स्तरीयताको कसौंडी

  असोज ०५, २०८२

प्रकाशचन्द्र खतिवडा

छापिनु पर्ने
कतिपय कविताहरु नछापि दिएर
कविताको वीभत्स हत्यामा
संलग्न भएका छन
केही सम्पादक र प्रकाशकहरु ।

सम्पादक महोदय
म फिराद पत्र लेख्दैछु
तिम्रा विरुद्ध
तिमीले उचित प्रष्टिकरण दिनु पर्नेछ ।
फिराद पत्र दरपिट गरिएको अदालतमा
मेरो कविता नभए
तिम्रो रोजी रोटी पनि त नचल्ला
तिमी आफू लेख्छौ लेख्दैनौं
त्यो त मलाई थाहा भएन
लाग्छ, तिमी लेखेर पनि
लेख्नुको पीडा बुझ्दै बुझ्दैनौं ।

दासहरु भजन लेख्छन
र भजन गाउँछन
तिमी त्यही दासको
भजनलाई अब्बल ठानी
राता हेडलाइन बनाएर
युद्ध स्तरमा प्रचार गर्छौं
सायद, तिमी हण्डी खान्छौ
हण्डीले तिमीलाई गलाएको हुनु पर्छ ।

म भूइँ मान्छे हुँ
मलाई भूइँ मान्छेकै कविता मन पर्छ
म भूइँ मान्छेकै कविता लेख्छु
बखतमान पखालाले सिकिस्त छ
बच्चु निमोनियाले थलिएकी छ
सन्तेलाई सुकेनाशले भेट्टाएको छ
दिलमाया ठेउलाले सताइएकी छ
घर खेत बाँझै छन
खाने अन्न पात छैन
अशिक्षा र गरिबी
वस्तिपुर गाउँको पहिचान भएको छ
मान्छेहरुमा चेतना छैन
जिमदारकै हाली मुहाली छ ।

कसरी व्यक्त गरुँ गरिबीको पीडा ?
मर्दा मुर्दा बाँध्ने कात्रो छैन
बालबालिका भोकले चिच्याइ रहेछन
भोकको औषधि बा आमा सँग छैन
असी कटेका वृद्ध बा आमा
मुग्लानिएको छोरो धनजिते फर्केन भनी
बुहारी अप्सरा सँग दुःखेसो पोख्छन
अप्सरा उदास देखिन्छे
धनजित फर्केर नआए पछि ।

मेरो कविता अभावको टाकुरो हो
मेरो कविता दुःखको समुन्द्र हो
मेरोे कविता पीडाको चौतारो हो
मैले अभाव, दुःख र पीडा मिसाएर
एउटा माला उन्न सक्नु पर्छ
दुःखिरहेका घाउहरुमा
मलहम पट्टि लगाएर
अभावमा पिल्सिरहेका
गरिब निमुखाको ओठमा
हाँसो ल्याउँन सक्नु पर्छ ।

मेरो कविता छाप्न
सम्पादकलाई गाह्रै हुन्छ
मेरा कवितामा
गरिब दुःखिको गीत हुन्छ
म कवितामा विद्रोह लेख्छु
म कवितामा क्रान्ति र परिवर्तन लेख्छु
विद्रोह, क्रान्ति र परिवर्तन
तिनीहरुलाई मान्य छैन
सत्ताधारीहरु डरपोक छन
मलाई अराष्ट्रियको उपमा दिएर
तिनीहरु राष्ट्रघाति बनेका छन
म लेख्न सक्दिनँ
राष्ट्रघतिको कविता
म लेख्छु
देशभक्त योद्धाहरुको कविता
सम्पादक महोदय
तपाईको स्तरीयताको कसौंडी कता छ ?
त्यो विवेकहीन कसौंडी
म रछ्यानमा फाल्न चाहान्छु
जब फालिन्छ कसौंडी
तब मात्रै छापिने छन मेरा कविता ।

तपाईको प्रतिक्रिया