सगरमाथामा अब हिलारी–तेन्जिङकै बाटो

  असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : आगामी वसन्तयामको सगरमाथा आरोहणमा परम्परागत बाटो प्रयोगमा आउने भएको छ । सगरमाथाको चुचुरोमा पहिलो मानवपाइला टेकेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गर्दा प्रयोग गरेको उक्त बाटो पुनर्निर्माणको काम ८० प्रतिशत पूरा भएसँगै वसन्तकालीन आरोहणमा उक्त मार्ग प्रयोगमा ल्याउने गरी तयारी अघि बढेको हो ।

सगरमाथा आधार शिविरदेखि पहिलो आधार शिविरसम्म पुग्ने उक्त मार्गको खोजी, अनुसन्धान तथा पुनर्निर्माणमा सन् २०२१ देखि खटिनुभएका फ्रान्सेली आरोही तथा अनुसन्धानकर्ता मार्क बटर्ड, स्पिड काजी शेर्पा र पासाङ नुरु शेर्पालगायतको समूहले आगामी यामदेखि आरोहणका लागि उक्त बाटो प्रयोगमा ल्याउने गरी तयारी गरिरहेको छ ।

आरोही तथा अनुसन्धानकर्ता स्पिड काजी शेर्पाले भन्नुभयो, “सगरमाथा, ल्होत्से र नृप्से हिमाल आरोहणमा हाल प्रयोग हुँदै आएको बाटोभन्दा सुरक्षित र स्थायी विकल्पका रूपमा गर्मीयामदेखि यो बाटो प्रयोगमा ल्याउने गरी तयारीमा छौँ । सरकारले व्यावसायिक आरोहणका लागि यो बाटो खुला गरेपछि सगरमाथालगायतका तीन वटै हिमाल आरोहण सर्वाधिक सुरक्षित हुने छ ।”

यो बाटोबाट सगरमाथालगायत तीन वटै हिमाल आरोहणमा जाँदा खुम्बु आइसफल पार गर्नु पर्दैन । हाल खुम्बु आइसफल क्षेत्र हुँदै पहिलो शिविरसम्म पुग्न बाङ्गोटिङ्गो, उबडखाबड, हिमनदीको किनारमा नागबेली आकारको चार किलोमिटर लामो बाटोमा पर्ने कैयौँ खर्पस तथा खोँचको सामना गर्नुपर्ने भएकाले यो बाटो सञ्चालनमा आएपछि आरोहणमा जोखिम र दुर्घटना कम हुने उहाँको भनाइ छ ।

अहिले निर्माण भइरहको बाटो बनाउन हालसम्म काला चट्टान र ठुला ढुङ्गा खोपेर दुई सय वटा फलामको स्थायी खुट्किला, सङ्केत चिह्न र तीन सय मिटर डोरीको प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले हरेक वर्ष आरोहणका लागि सगरमाथाको चुचुरोसम्म बाटो बनाउन आइसफल डाक्टर खटाउने गरेको छ । पाइलैपिच्छे खतरनाक खर्पस भेटिने खुम्बु आइसफलको बाटो बनाउन सबैभन्दा बढी समय र जोखिम हुने गरेको थियो ।

जलवायु परिर्वतनको असरका कारण हिमनदी पग्लिने क्रम वृद्धि, तापमान वृद्धिले हाल प्रयोग भइरहेको खुम्बु क्षेत्रमा हिउँ स्थिर देखिएपछि गत वर्षको सगरमाथा आरोहण गर्दासमेत नयाँ बाटो प्रयोग गरिएको थियो । खुम्बु क्षेत्र असुरक्षित हुँदै गएपछि गत वर्ष पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास रहेर नयाँ बाटो प्रयोग गरिएको थियो । खुम्बु आइसफलको बाटो सन् १९८४ देखि सञ्चालनमा आएको थियो ।

तपाईको प्रतिक्रिया