टक्सार (भोजपुर), २ असोज : विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् ।
टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्, जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत दर्जनौँ बढी मठमन्दिर तथा विहारहरू पर्दछन् । यिनै सम्पदाहरू संरक्षण र रेखदेखको अभावमा ओझेलमा पर्दै गएका छन् ।
यी सम्पदाको उचित रेखदेख र व्यवस्थापन नहुँदा पूजाआजा गर्ने तीर्थालुसमेत घट्दै गएको स्थानीयको गुनासो छ । स्थानीय सानुकाजी शाक्य काठमाडौँ उपत्यकाको पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्तव बोकेका यहाँका मठमन्दिरको जीणोद्धार हुन नसक्दा समस्या भएको बताउनुहुन्छ । यसलाई दोस्रो मिनी पाटनका रूपमा पनि चिन्ने गरिन्छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएकाले सरोकार भएकाहरूले यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
स्थानीय किशोर ताम्राकार यहाँ रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट सहयोग हुनुपर्ने बताउनुहुन्छ । “इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजनासहित काम गर्न आवश्यक छ । टक्सारको प्रचार–प्रसारका लागि स्थापना गरिएको भोजपुर सङ्ग्रहालयबारे पनि उचित ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।
यशोधरा माध्यामिक विद्यालय टक्सारका प्रधानाध्यापक धु्रवराज रेग्मी सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वसँग सम्पदाको विकासका लागि स्थानीय निकायले योजनाबद्ध रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ “टक्सारका ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानीय नागरिक, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु आवश्यक छ । नभए यहाँको पहिचान नै गुम्नसक्छ”, उहाँले भन्नुभयो ।
रासस