संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि प्रमुख सहायता समूहहरूको गठबन्धनले बुधबार अन्तर्राष्ट्रिय समुदायलाई गाजा सहरमा इजरायलको आक्रमण रोक्न कडा कदम चाल्न आग्रह गरेको छ ।
इजरायलले पहिले नै विनाश भइसकेको उत्तर क्षेत्रमा सैन्य अभियानलाई विस्तार गर्दै जाँदा गाजामा प्यालेस्टिनी मृतकको सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।
“गाजामा देखिएको अवस्था केवल अभूतपूर्व मानवीय प्रकोप मात्र होइन, संयुक्त राष्ट्रसङ्घीय अनुसन्धान आयोगको निष्कर्षअनुसार यो नरसंहार हो”, सहायता समूहहरूको वक्तव्यमा भनिएको छ, “राज्यहरूले उपलब्ध सबै राजनीतिक, आर्थिक र कानूनी उपकरण प्रयोग गरेर हस्तक्षेप गर्नुपर्छ । बयानबाजी र आधा उपाय पर्याप्त हुँदैनन् । यो क्षण निर्णायक कार्यको माग गर्दछ ।”
सन्देशमा नर्वेली शरणार्थी परिषद्, अनेरा, सेभ द चिल्ड्रेनलगायत २० भन्दा बढी संस्थाका नेताहरूले हस्ताक्षर गरेका थिए ।
यो बयान इजरायलले गाजा सहरमा आफ्नो आक्रमण सुरु गरेको एक दिनपछि आएको हो । युद्ध सुरु भएको करिब दुई वर्षपछि इजरायलले सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिने प्रतिज्ञा गरेको छ ।
बुधबार गाजास्थित अस्पताल अधिकारीहरूले रातभरका आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा १३ प्यालेस्टिनी मारिएको जनाए । शिफा जिल्लाका अधिकारीका अनुसार गाजा सहरको आक्रमणमा मृत्यु भएकामध्ये आधाभन्दा बढी एकै परिवारका थिए, जसमा आमासहित एक बालक पनि थिए ।
मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा घरमा प्रहार हुँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको अल–अवाडा अस्पतालले जनाएको छ । त्यस्तै, खान युनिस नजिकै मुवासी क्षेत्रमा त्रिपालमा भएको आक्रमणमा दुई आमाबाबु र उनीहरूको बच्चाको मृत्यु भएको नासेर जिल्लाले पुष्टि गरेको छ ।
इजरायली सेनाले ती आक्रमणबारे तत्काल टिप्पणी गरेन, तर विगतमा उसले हमासलाई नागरिक क्षेत्रभित्र सैन्य पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म ६४ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मृतकमध्ये झन्डै आधा महिला र बालबालिका भएको बताइएको छ । मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि त्यहाँका चिकित्सकहरूले यसलाई पुष्टि गरेका छन् ।
यसैबीच, इजरायली सेनाले गाजा सहरबाट दक्षिणतर्फ भाग्नेहरूका लागि सालाह अल–दिन सडकमार्ग दुई दिनका लागि खोलिने जनाएको छ ।
आक्रमण अघि करिब १० लाख मानिस गाजा सहर क्षेत्रमा रहेका थिए, जसमा करिब तीन लाख ५० हजार पलायन भइसकेको सेनाले दाबी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र दुई लाख २० हजारभन्दा बढी उत्तरी गाजाबाट विस्थापित भएका थिए । अझै सयौँ हजार नागरिक सहरमै फँसेका छन् ।
एक इजरायली सैन्य ग्राफिकअनुसार यस अभियानपछि समुद्रतट छेउको केही भूभागबाहेक सम्पूर्ण गाजा पट्टी नियन्त्रणमा लिने लक्ष्य राखिएको छ । सेनाले यसअघि पनि गाजा सहरमा ठूला–ठूला छापा मारेको थियो, जसले विस्थापन र विनाश निम्त्याएको थियो, तर उग्रवादीहरू फेरि समूहबद्ध हुनसक्ने देखिन्थ्यो । यस पटक भने सम्पूर्ण सहर नियन्त्रणमा लिने दाबी गरिएको छ ।
इजरायली सैन्य अधिकारीका अनुसार हाल गाजा सहरमा करिब दुई हजारदेखि तीन हजार हमास लडाकू बाँकी छन् । सुरुङमार्गहरू अझै प्रयोग भइरहेको विश्वास गरिएको छ । हमासको सैन्य क्षमता कमजोर भइसकेको भए पनि उनीहरूले साना छापामार समूहमार्फत विस्फोटक बिछ्याउने वा सैन्य चौकीमा आकस्मिक आक्रमण गर्ने गतिविधि जारी राखेका छन् ।
रासस