गण्डकी, १ असोज : जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, कास्कीले कार्यालयबाट प्रवाह हुने सबै सेवा पूर्ववत् रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाएको छ ।
कार्यालय भवन सरसफाइ, मर्मतसम्भार, रङ्गरोगनलगायतका कार्य भइरहेकाले सेवा प्राप्तिमा धैर्य गरिदिन सेवाग्राहीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताउनुभयो । आइतबारदेखि शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्य सञ्चालन भएको र अन्य सेवा क्रमिक रूपमा सञ्चालन गरिने उहाँको भनाइ छ ।
हाल दुईवटा कार्यकक्षबाट सेवा प्रवाह भइरहेको र अन्य कार्यकक्ष मर्मतको काम भइरहेको जनाइएको छ । सुरक्षाकर्मी, कर्मचारीलगायत आवश्यक जनशक्ति परिचालन गरेर कार्यालय सरसफाइ र मर्मतसम्भारको काम गरिएको हो । जनजी आन्दोलनका क्रममा यहीँ भदौ २४ गते भएको तोडफोड, आगजनी एवं लुटपाटबाट कार्यालयमा ठूलो क्षति पुगेको छ ।
कार्यालयको भौतिक संरचना कुरूप बनेको छ । कम्प्युटरलगायत महत्वपूर्ण उपकरणहरू जलेका तथा लुटपाट भएका छन् । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता, स्थानीय प्रशासन तथा शान्ति सुरक्षालगायत सेवासम्बन्धी सम्पूर्ण अभिलेखहरू जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।
रासस