प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

  १७ घण्टा अगाडि

काठमाडौँ, ३१ भदौ : प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचन गर्नुभएकाले त्यसमा सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको सन्देशमा नेपाल–भारतबिचको मित्रता र सहयोगको सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा उहाँले आगामी असोज २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने तयारी गरिएको जानकारी गराउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया