उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा

  ५ घण्टा अगाडि

अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पार्‍यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो ।

रुबियोले भ्रमणअघि गाजामा इजरायलको योजना बारेमा प्रत्यक्ष जवाफ खोज्ने बताउनुभएको थियो । गत हप्ता कतारमा हमास नेतामाथि भएको इजरायली आक्रमणले द्वन्द्व अन्त्य गर्ने प्रयासलाई थप जटिल बनाएको थियो ।

उहाँको दुई दिने भ्रमणले बढ्दो पृथक इजरायलप्रति समर्थन प्रकट गर्छ, यद्यपि संयुक्त राष्ट्रसङ्घमा अर्को हप्ता प्यालेस्टिनी राज्य निर्माणबारे विवादास्पद बहस हुने अपेक्षा छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसबारे कडा विरोध जनाउनुभएको छ ।

– कतार आक्रमणपछि पनि भ्रमण –

रुबियोको भ्रमण दोहामा भएको इजरायली आक्रमणपछि पनि जारी रहेको छ । आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बन्नुभएको थियो । उहाँले उक्त कारबाहीबारे अमेरिका पूर्वसूचित नभएको बताउनुभएको थियो ।

आइतबार नेतान्याहु, रुबियो र उहाँहरूका पत्नीहरू, साथै अमेरिकी राजदूत माइक हुकाबी दम्पतीले पश्चिमी पर्खाल र नजिकै उत्खनन गरिएका सुरुङहरू अवलोकन गर्नुभयो । नेतान्याहुले भन्नुभयो, “रुबियोको भ्रमण इजरायल–अमेरिकी गठबन्धनको स्थायित्व र बलको प्रमाण हो, यो ढुङ्गाजस्तै मजबुत छ ।”

शुक्रबार रुबियो र ट्रम्पले कतारका प्रधानमन्त्रीसँग भेटेर आक्रमणका प्रभावबारे छलफल गर्नुभएको थियो । इजरायल र कतारसँगको ती भेटहरूले ट्रम्प प्रशासनले कसरी प्रमुख सहयोगीहरूबीच सन्तुलन खोजिरहेको छ भन्ने देखाउँछ ।

कतारमा भएको आक्रमणले कम्तीमा छ जनको मृत्यु भएको थियो र संयुक्त राष्ट्रसङ्घीय महासभाको आगामी सत्रअघि युद्धविराम तथा बन्धक मुक्त गर्ने प्रयासहरूलाई पनि धक्का दिएको छ ।

यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार अरब र मुस्लिम मुलुकका विदेशमन्त्रीहरूसँग भेटेर इजरायलको निन्दा गर्नुभयो । उहाँले भन्नुभयो, “कतार इजिप्ट र अमेरिकासँग युद्धविराममा प्रतिबद्ध छ, तर इजरायलको हवाई आक्रमण ‘मध्यस्थताको सिद्धान्तमाथि प्रहार’ हो ।”

– गाजामा घातक आक्रमण –

स्थानीय अस्पतालहरूका अनुसार आइतबार गाजाभरि भएको इजरायली आक्रमणमा कम्तीमा १३ जना मारिए र दर्जनौँ घाइते भए । देइर अल–बलाहमा भएको एउटा आक्रमणमा एउटै परिवारका छ सदस्य मारिए । मारिनेमा दुई आमाबाबु, तीन सन्तान र एक काकी रहेका थिए ।

इजरायली सेनाले तत्काल प्रतिक्रिया दिएको छैन । तर एपी भिडियोले आकाशमा धुवाँ उडिरहेको र गाजा सहरबाट हजारौँ मानिस सामानसहित भागिरहेको देखाएको छ । सेनाले बासिन्दालाई सहर खाली गर्न चेतावनी दिइरहेको छ ।

इजरायलले तीन अग्ला भवन ध्वस्त पारेको छ । गाजाको इस्लामिक युनिभर्सिटीको एउटा भवन दुईपटक प्रहारपछि भत्काइएको छ । अल–सिफा अस्पतालमा हताहत भएको रिपोर्ट छ, तर विवरण अज्ञात छ ।

सेनाले हमासले ती भवनहरूलाई निगरानी केन्द्रका रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । तर सेनाले प्रमाण प्रस्तुत गरेको छैन ।

“यो नरसंहारको एक हिस्सा हो”, गाजा सहरका बासिन्दा अबेद इस्माइलले भन्नुभयो, “तिनीहरू सहरलाई भग्नावशेष बनाउँदै छन् र हामीलाई अर्को ‘नाकबा’ तिर धकेल्दै छन् ।”

– भोकमरी चर्किँदै –

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण दुई वयस्कको मृत्यु भएको छ । जुनदेखि हालसम्म दुई सय ७७ वयस्क र युद्ध सुरु भएदेखि एक सय ४५ बालबालिकाले कुपोषणका कारण ज्यान गुमाएका छन् ।

इजरायली निकायले गत हप्तामा एक हजार दुई सयभन्दा बढी सहायता ट्रक गाजामा प्रवेश गरेको दाबी गरेको छ । तर सहायता संस्थाहरू यो ठूलो आवश्यकताका लागि पर्याप्त नभएको उल्लेख गर्दै धेरै सहायता गन्तव्यमा पुग्नुअघि नै लुटिने गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय टोलीहरूले गाजासम्मको पानी लाइनमध्ये एकलाई मर्मत गरी आपूर्ति बढाएको इजरायलले जनाएको छ । तर पानी अझै अभावमै छ र मानिसहरू दुई–तीन दिनमा आउने ट्रकहरू पछ्याएर बोतल र भाँडामा भरेर लैजान बाध्य छन् ।

– युद्धको पृष्ठभूमि –

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार दुई सय जनाको हत्या र दुई सय ५१ जनाको अपहरण गरेसँगै गाजामा युद्ध सुरु भएको थियो । अझै ४८ जना बन्धक गाजामा छन्, जसमा २० जना जीवित रहेको इजरायलको विश्वास छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रत्याक्रमणले हालसम्म कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनीको ज्यान गएको छ । यसमा नागरिक र लडाकू कति छन् भनेर भने छुट्याइएको छैन ।
रासस

तपाईको प्रतिक्रिया