व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि–डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो । यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र गेट ड्राइभर आइसी चिप्सलाई लक्षित गर्नेछ । यी चिपहरू प्रायः टेक्सास इन्स्ट्रुमेन्ट्स र अन सेमीकन्डक्टर जस्ता अमेरिकी कम्पनीहरूले उत्पादन गर्छन् ।
मन्त्रालयले यससँगै चीनको चिप उद्योगविरुद्ध अमेरिकी कदमहरू भेदभावपूर्ण भएको भन्दै छुट्टै भेदभाव विरोधी जाँच पनि घोषणा गरेको छ ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबारदेखि बुधबारबीच मेड्रिडमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले जनाएको छ ।
चीनको दाबीअनुसार, अमेरिकी निर्यात प्रतिबन्ध र कर जस्ता कदमहरूले ‘उन्नत कम्प्युटर चिप्स र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उच्च–प्रविधि उद्योगहरूको विकासलाई नियन्त्रण र दमन गर्ने रणनीति’ प्रदर्शन गर्छन् ।
यो घोषणा अमेरिकाले २३ चिनियाँ कम्पनीलाई ‘एकाइ सूची’ मा थपेको भोलिपल्ट आएको हो । सूचीमा परेका कम्पनीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति हितविरुद्ध काम गरेको आरोपमा प्रतिबन्धको सामना गर्नुपर्नेछ । तीमध्ये दुई कम्पनीलाई प्रमुख चिनियाँ चिप निर्माता एसएमआइसीका लागि चिप उत्पादन उपकरण उपलब्ध गराएको आरोप छ ।
मेड्रिडमा हुने बेसेन्ट–हे बैठक व्यापार तनाव न्यूनीकरण गर्ने, उच्च कर स्थगित गर्ने र पारस्परिक समझदारी बढाउने प्रयासका रुपमा आयोजित वार्ताको अर्को चरण हुनेछ ।
यसअघि दुवै पक्षबीच मे महिनामा जेनेभा, जुनमा लन्डन र जुलाईमा स्टकहोममा छलफल भएको थियो । ती वार्ताहरूले पारस्परिक करमा धेरै पटक ९०–९० दिनको अस्थायी विराम ल्याएका थिए, जसले पूर्ण व्यापार युद्ध रोक्न मद्दत गरेको हो ।
बेसेन्टले स्टकहोम वार्तालाई ‘धेरै परिणाममुखी’ भन्नुभएको थियो । उहाँले भन्नुभयो, “हामीले दुर्लभ खनिज तत्व, अर्धचालक (सेमीकन्डक्टर) वा औषधि जस्ता केही रणनीतिक उद्योगहरूसँग जोखिम कम गर्न आवश्यक छ । साथै, सम्बन्धलाई सन्तुलनमा ल्याउन हामीले संयुक्त रूपमा के गर्न सक्छौँ भन्ने विषयमा छलफल गरेका छौँ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाउनुभएको थियो ।
वासिङ्टनले यो कदमलाई राष्ट्रिय सुरक्षासँग जोडे पनि चीनको भनाइमा यी प्रतिबन्धहरू यसको प्रविधिक वृद्धि रोक्न अमेरिकाले अपनाएको रणनीतिको हिस्सा हुन् ।
(रासस)