वासिङ्टन, २८ भदौ : अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ ।
‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको रूपमा योगदान गरिरहेका चिनियाँ नागरिकता भएका अमेरिकी भिसा प्राप्त व्यक्तिहरूलाई यस प्रकारको प्रतिबन्धका लागि सेप्टेम्बर ५ मा सूचित गरिएको र उनीहरूको पहुँच समाप्त गरिएको थियो। त्यसँगै धेरैले आफूलाई डिजिटल प्रणालीबाट अचानक अलग गरेको र आफुहरूलाई कामसँग सम्बन्धित व्यक्तिगत र भर्चुअल बैठकहरूबाट पनि अलग गरेका छन् ।
नासाका प्रेस सचिव बेथानी स्टिभेन्सले नीति परिवर्तनको पुष्टि गर्दै नासाले भौतिक र साइबर सुरक्षा दुवै जोखिमलाई सीमित गर्न ‘आन्तरिक कारबाही’ गरेको बताउनुभयो । उहाँले प्रतिबन्धहरू संवेदनशील कामहरूको सुरक्षाका लागि आवश्यक थिए ।
द इपोक टाइम्सका अनुसार यो निर्णय अमेरिकी प्रविधि क्षेत्रमा चिनियाँ नागरिकहरूको उच्च छानबिनपछि आएको छ र हालैका वर्षहरूमा धेरै जासुसी घटनाहरू चिनियाँ कम्युनिस्ट शासनसँग सम्बन्धित छन् ।
एक विशिष्ट सुरक्षा उल्लङ्घनले नासाको उक्त कदमलाई प्रेरित गर्यो भन्ने तोकिएको छैन । थप स्पष्टीकरणको लागि सोध्दा नासाले द इपोक टाइम्सलाई फक्स बिजनेसमा कार्यवाहक प्रशासक सीन डफीले गरेको टिप्पणीलाई उल्लेख गरेको थियो ।
फक्स बिजनेसका डफीले संयुक्त राज्य अमेरिकाले ‘दोस्रो अन्तरिक्ष दौडको नेतृत्व गर्नुपर्दछ’ र चीनको चन्द्र यात्राको महत्वाकांक्षाहरू शान्तिपूर्ण अन्वेषणको सट्टा सैन्य उद्देश्यमा आधारित भएकाले प्रतिबन्ध आवश्यक भएको बताउनुभएको थियो ।
अमेरिकी रक्षा अधिकारीहरूले पनि यस्तै चिन्ता व्यक्त गरेका छन्। स्पेस फोर्सका प्रमुख जनरल बि चान्स साल्ट्जम्यानले बेइजिङको अन्तरिक्ष कार्यक्रम उसको सैन्य रणनीतिसँग जोडिएको बताउनुभएको छ । यसैबीच, चीनले अगस्टमा आफ्नो चन्द्रमामा पठाउने लङ मार्च–१० रकेटको परीक्षणसहितका कार्यहरू तीव्र पारेको छ ।चीनले योे दशकको अन्त्यसम्म चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने लक्ष्य राखेको छ । (रासस/एएनआई)