प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भन्नुभयो : हाम्रो योगदान खेर नजाओस्

  ४ घण्टा अगाडि

काठमाडौँ, २८ भदौ : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,” डा रेग्मीले भन्नुभयो । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् । अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया