नेपालगञ्ज (बाँके), २८ भदौ : जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन सय ४२ बालबन्दी र कैदीबन्दीमध्ये हालसम्म ४८ जना पक्राउ परेका छन् । प्रहरीले दुई सय ९४ जना अझै फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।
जिल्लाको वैजनाथ गाउँपालिकास्थित नौवस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधारगृहबाट भागेका १९५ बालबन्दीमध्ये ३५ जना पक्राउ परेको तथा नौवस्ता कारागारबाट भागेका १४७ कैदीबन्दीमध्ये १३ जना पक्राउ परेको बालसुधारगृह र नौवस्ता कारागारले जनाएको छ ।
डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले जेनजीको प्रदर्शनका बेला सुधारगृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेकामा २१ जना पक्राउ परेका छन्। अझै ९४ जनाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
नौवस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७२ बालबन्दीमध्ये ८० जना भागेकामा १४ जना पक्राउ परेको उल्लेख गर्नुभयो । बाँकेबाट छ र दाङको लमहीबाट आठ जना पक्राउ परेको उहाँको भनाइ छ । सो सुधारगृहका ६५ जना बालबन्दीको खोजी भइरहेको छ ।
नौवस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये अहिलेसम्म १३ जना पक्राउ परेको तथा १३४ जनाको खोजी भइरहेको कारागारका प्रमुख जालन्धर भुसालले जानकारी दिनुभयो । सो कारागारमा ५८५ जना कैदी बन्दी थिए ।
पक्राउ परेका ४८ जनामध्ये केही आफैँ फर्किएका र अधिकांशलाई खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अझैँ पनि फरार रहेका बालबन्दी र कैदीलाई फर्किन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजी गरी पक्राउ गरिने प्रहरीले जनाएको राससमा उल्लेख छ ।