काठमाडौँ, २६ भदौ : प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्बन्धित प्रहरी इकाइमा आउन अनुरोध गरिएको बताउनुभयो ।
प्रहरी महानिरीक्षकको कार्यालयले आजै सूचना जारी भदौ २३ मा जेनजीका नाममा भएको प्रदर्शनपछि कारागार कार्यालय तोडफोड, आगजनी गरी फरार रहेका कैदीबन्दीलाई सम्बन्धित प्रहरी कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।
कार्यालयले आज जारी गरेको सूचनामा भनिएको छ, “भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाईहरू तथा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनीपश्चात अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू भागेकाले त्यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरिएको छ ।”
प्रहरीका अनुसार यसरी १४ हजारभन्दा बढी कैदीबन्दी र थुनुवाहरु भागेका छन् । त्यसमध्ये केही सय मात्रै फर्किएका छन् भने केही पक्राउ परेका छन् ।