काठमाडौँ, २६ भदौ : बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ । आन्दोलनले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्ने काम गर्न आग्रह गरेको छ ।
“संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्”, आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनले नागरिकको सङ्घर्षको बलमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षतालाई थप बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याएको छ ।
अब बन्ने नागरिक सरकारलाई वर्तमान संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कता साथ अघि बढ्न खबरदारी गर्नुपर्ने उल्लेख गर्दै आन्दोलनले यस विषयमा जेनजीलाई जस्तोसुकै साथ दिन नागरिक समाज तयार रहेको जनाइएको राससले जनाएको छ ।