न्युयोर्क, २५ भदौ : अल्जेरिया र पाकिस्तानको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले दोहामा हमासको राजनीतिक ब्युरो सदस्यहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणबारे छलफल गर्न बुधबार आपत्कालीन सत्र बोलाउने भएको छ ।
संयुक्त राष्ट्रसङ्घका कूटनीतिक स्रोतका अनुसार परिषद्का सदस्यहरूले महासचिवालयका वरिष्ठ अधिकारीहरूबाट पछिल्ला घटनाक्रम र बढ्दो तनावबारे प्रत्यक्ष जानकारी लिने अपेक्षा गरिएको छ ।
महासचिव एन्टोनियो गुटेरेसले कतारमा भएको आक्रमणलाई देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको ‘स्पष्ट उल्लङ्घन’ भन्दै निन्दा गर्नुभयो । उहाँले गाजामा युद्धविराम सम्भव बनाउन र बन्धकहरूको रिहाइ सहज गर्न कतारले खेलेको ‘धेरै सकारात्मक भूमिका’ को प्रशंसा पनि गर्नुभयो । गुटेरेसले सबै पक्षलाई ‘गाजामा स्थायी युद्धविराम हासिल गर्नमा ध्यान दिनुपर्छ, यसलाई नष्ट गर्न होइन’ भन्नेमा जोड दिनुभयो ।
कतारको गृह मन्त्रालयले मङ्गलबार आन्तरिक सुरक्षा बल (लेखविया) का एक सदस्य, हमासका राजनीतिक ब्युरो प्रमुख खलील अल–हयाका छोरा हुमाम खलील अल–हय्यासहित तीन जनाको मृत्यु भएको जानकारी दिएको छ । साथै, धेरै सर्वसाधारण घाइते भएको पनि रिपोर्ट गरिएको छ । (रासस\क्युएनए)