कञ्चनपुर कारागारबाट भागेकामध्ये २१ कैदीबन्दी फिर्ता

  ४ घण्टा अगाडि

कञ्चनपुर, २५ भदौ : कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१ जना कैदीबन्दी फिर्ता भएका छन् ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा कुल ४७९ कैदीबन्दी थिए । मङ्गलबार राति करिब तीन–चार सयको सङ्ख्यामा घरेलु हतियारसहित आएका व्यक्तिहरु कारागार प्रवेश गरी मूलगेटको ताला तोडेर कैदीबन्दीलाई भाग्न सहयोग गरेका थिए ।

“भागेका मध्ये २१ जना कारागार फर्किएका छन्,” प्रशासक जोशीले भन्नुभयो, “केही कैदीबन्दीहरू सम्पर्कमा छन् र फर्किने बताएका छन् तर कफ्र्यू आदेश जारी भएकाले फर्कन नसकेको जानकारी दिएका छन् ।” उहाँका अनुसार हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरूको खोजतलासका लागि प्रहरी परिचालन गरिएको छ । कारागारमा ४५३ पुरुष र २६ महिला गरी कुल ४७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १६९ जना लागुऔषध सम्बन्धी मुद्दाका थिए ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई शीघ्र कारागार कार्यालय वा नजिकैको सुरक्षा निकायमा सम्पर्कमा आउन आग्रह गरेको छ । “सम्पर्कमा नआउने कैदीबन्दीमाथि कानुनअनुसार कडा कारबाही हुनेछ,” सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया