रुसको आक्रमणपछिको सबैभन्दा ठूलो हवाई आक्रमणपछि युक्रेनले कूटनीतिज्ञलाई क्षति देखायो

  २० घण्टा अगाडि

किएभ, २३ भदौ : युक्रेनका वरिष्ठ अधिकारीहरूले सोमबार ६० विदेशी कूटनीतिज्ञलाई राजधानी किएभको मुटुमा क्षतिग्रस्त सरकारी भवनहरूको अवलोकन गराएका छन् ।

यो भ्रमण तीन वर्षअघि रुसले सुरु गरेको युद्धपछिको सबैभन्दा ठूलो हवाई आक्रमण भएको भोलिपल्ट आयोजना गरिएको हो ।

आइतबारको आक्रमणमा आठ सयभन्दा बढी ड्रोन र डिकोइ प्रयोग गरिएको थियो । यसले महिनौँदेखि चलिरहेको अमेरिकाले नेतृत्व गरेको शान्ति प्रयासलाई थप अनिश्चित बनाएको छ ।

ड्रोनले अपार्टमेन्ट भवनहरूमा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भयो र शीर्ष अधिकारीहरूको कार्यालय रहेको मुख्य सरकारी भवनमा आगो लागेको थियो ।

लगभग एक शताब्दीअघि निर्माण भएको, प्रभावशाली अर्धवृत्ताकार अग्रभागसहितको १० तले सोभियत शैलीको भवनमा यसअघि कहिल्यै रुसी आक्रमण नभएको विश्वास गरिन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री युलिया स्विरिडेन्को, विदेशमन्त्री एन्ड्री सिबिहा र गृहमन्त्री इहोर क्लिमेन्कोले कूटनीतिज्ञहरूलाई जलेका भग्नावशेषले भरिएका कार्यालयहरू देखाउनुभयो । स्विरिडेन्कोले यस आक्रमणलाई ‘रुसले शान्ति नचाहेको र सभ्य विश्वका कूटनीतिक प्रयासको खुलेर उपहास गरेको स्पष्ट सङ्केत’ भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेमलिनलाई आफ्नो मार्ग परिवर्तन गर्न वा गम्भीर परिणामको सामना गर्न अगस्टमा समयसीमा तोक्नुभएको थियो । तर उहाँ रुसमाथि थप प्रतिबन्ध लगाउन हिचकिचाउनुभएको छ र युद्धमा जारी लडाइँका लागि दुवै पक्षलाई दोष दिनुभएको छ ।

ट्रम्पले आइतबार यस द्वन्द्वलाई समाधान गर्न आफूले अपेक्षा गरेको भन्दा गाह्रो भइरहेको र आगामी दुई दिनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताउनुभएको थियो ।

रुसी सेनाले एक हजार किलोमिटर (छ सय २० माइल) लामो फ्रन्टलाइनमा महत्त्वपूर्ण भूमि कब्जा गर्न सकेको छैन, यद्यपि यसले ग्रामीण क्षेत्रमा केही प्रगति गरेको छ ।

युक्रेन र युरोपेली नेताहरू वासिङ्टनलाई रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउन आग्रह गरिरहेका छन् । रुसको युद्ध अर्थतन्त्र ठूलो मात्रामा कच्चा तेल निर्यातमा निर्भर छ र यसको प्रमुख क्रेताहरूलाई निशाना बनाउन माग भइरहेको छ ।

युरोपेली सङ्घ (इयु) का प्रतिबन्ध दूत डेभिड ओ’सुलिभनको नेतृत्वमा आएको टोलीले सोमबार अमेरिकी अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेटेर रुसमाथि थप आर्थिक दबाबको उपायबारे छलफल गर्नेछ । बैठकबारे जानकारी दिने व्यक्तिले आफ्नो नाम गोप्य राख्ने सर्तमा एपीलाई जानकारी दिएका हुन् ।

युक्रेनी अधिकारी र विश्लेषकहरूलेरुसले वर्ष अन्त्यसम्ममा आफ्नो आक्रमणलाई दिनको एक हजारभन्दा बढी ड्रोन प्रयोग गर्ने स्तरमा विस्तार गर्ने योजना बनाउन सक्ने चेतावनी दिएका छन् । यसैले युक्रेनले रातारात भएको बमबारीबाट चाँडै राहत पाउने सम्भावना न्यून देखिन्छ । (रासस/एपी)

तपाईको प्रतिक्रिया