इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र युद्धविरामको प्रस्तावलाई लिएर पुनः वार्ताको संभावना देखिएको छ । इजरायलले हमासलाई वार्तामा सहभागी भएर बन्धकहरू मुक्त गर्न र हतियार त्याग्न आग्रह गरेको छ, भने हमासले वार्ता गर्न सकारात्मक सङ्केत दिएको छ ।
इजरायली रक्षा मन्त्री इस्राएल काट्जले सार्वजनिक सन्देशमार्फत हमासलाई शान्तिपूर्ण समाधानमा आउन अनुरोध गर्दै भन्नुभयो,“गाजा सहरमा रहेका बन्धकहरूलाई सुरक्षितरूपमा मुक्त गर्न र द्वन्द्व अन्त्यका लागि आवश्यक कदम चाल्न समय आएको छ ।”
उता, हमासले अमेरिकी मध्यस्थतामा प्रस्तुत भएको प्रस्तावलाई विचार गरिरहेको जनाउँदै, स्थायी युद्धविराम, गाजाबाट इजरायली फौजको पूर्ण फिर्ता र स्वतन्त्र प्रशासनको व्यवस्था गर्ने शर्तमा वार्ताका लागि तयारी देखाएको छ ।
युद्धको प्रभाव
गाजा क्षेत्रमा आइतबारको आक्रमणमा कैयौँको ज्यान गएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । पछिल्ला दिनहरूमा इजरायली सेना गाजा सहर वरपर सक्रिय देखिएको छ । केही भवनहरूलाई निशाना बनाइएको छ, जसलाई इजरायलले सैन्य प्रयोजनका लागि प्रयोग गरिएको भनिएको छ, यद्यपि हमासले त्यसलाई अस्वीकार गरेको छ ।
अमेरिकी भूमिका
अमेरिकी राष्ट्रपतिको पहलमा प्रस्तुत गरिएको प्रस्तावलाई लिएर वार्ताको वातावरण तयार हुँदै गएको देखिन्छ । राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत आशा व्यक्त गर्दै भन्नुभएको छ,“गाजासम्बन्धी सहमति चाँडै हुने सम्भावना छ ।”
यसअघिका चरणहरूमा पनि वार्ताको पहल भए तापनि ठोस सहमति हुन सकेको थिएन । तर, पछिल्लो चरणमा दुवै पक्षबाट देखिएको चासोले स्थायी युद्धविरामतर्फ सकारात्मक सङ्केत दिएको छ ।
(रासस)