कास्की, २२ भदौ : पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।
पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो । पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो, तर निकै प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो ।
पाँचौँ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता ग¥यो । पहिलो जितसँगै लुम्बिनीले दुई अङ्क जोडेको छ । यसैगरी तीन खेल खेलेको पोखरा जितविहीन छ । पोखराले एक अङ्क जोडेको छ ।
लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेस युनाइटेडसँग पराजित भएको थियो । यसअघि, आजै सम्पन्न पहिलो खेलमा काठमाडौँ स्पाइकर्सले मधेस युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो ।
पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौँले दोस्रो सेट २३–२५ ले मधेसलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौँले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौँले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जित्यो ।
लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यशविश र काठमाडौँ स्पाइकर्सबीच हुनेछ । दोस्रो तथा अन्तिम खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म सञ्चालन हुनेछ ।