राँझा (बाँके), २२ भदौ : बाँकेमा अर्बौं लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् ।
पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसियन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताउनुभयो । उहाँले भारतीय पर्यटकको नेपालमा सहज आगमन र सत्कारमा ध्यान दिनसके होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो ।
होटल व्यवसायी सङ्घका अध्यक्ष रङ्गबहादुर खड्काले बाँकेमा होटल व्यवसायमा लगानी बढ्दै गइरहेको बताउँदै अब पर्यटकको बसाइ लम्ब्याउने उपायतिर सरकारीस्तरबाट पनि पहल हुनु जरुरी रहेको बताउनुभयो ।
“अहिले भारतीय पर्यटक नै बाँकेका होटल व्यवसायका लागि मुख्य आधार बनेको छ”, उहाँले भन्नुभयो, “पर्यटकलाई स्थानीय प्रशासनले सहयोगी भूमिकाभन्दा दुःख दिने नियत राख्दा समस्या हुने गरेकाले यसमा ध्यान दिन जरुरी छ ।”
होटल व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै अध्यक्ष खड्काले राज्यले होटल व्यवसायीलाई अभिभावकका रूपमा व्यवहार गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले पर्यटनलाई उद्योगका रूपमा बचाउ गर्न नसकेको र विनियोजित बजेट पनि अनावश्यक क्षेत्रमा खर्च भइरहेको गुनासो गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले स्थानीय सरकारले होटल व्यवसायको विकासका लागि सहयोगी नीतिनिर्माणका लागि पहल गर्ने बताउनुभयो । उहाँले नगरको सौन्दर्यकरणमार्फत पर्यटकलाई आकर्षण गर्ने योजनाअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो ।
(रासस)