थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्दै

  २० घण्टा अगाडि

थाई सांसदहरू शुक्रबार नयाँ प्रधानमन्त्री चयनका लागि भेला भएका छन् । प्रमुख दलहरूले भने चाँडै संसद् विघटन गरी आम चुनाव घोषणा गर्ने प्रतिस्पर्धी वाचा गरेका छन् । उनीहरूले यसलाई देशको राजनीतिक सङ्कट समाधान गर्ने बाटोका रूपमा प्रस्तुत गरेका छन् ।

सन् २०२३ को आम निर्वाचनमा मनोनित भएका पाँच उम्मेदवारमध्ये मात्र संवैधानिक नियमअनुसार प्रधानमन्त्री बन्न योग्य छन् । तीमध्ये भुमजाइथाई पार्टीका नेता अनुतिन चार्नविराकुल पद सुरक्षित गर्ने सबैभन्दा सम्भावित उम्मेदवारका रूपमा देखिनुभएको छ ।

गत हप्तामात्र संवैधानिक अदालतले पेटोङ्टार्न सिनावात्रालाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग सीमासम्बन्धी विवादमा गरिएको फोनवार्तालाई नैतिकता कानून उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पदबाट पदच्यूत गरेको थियो । यो विवाद जुलाईमा पाँच दिनसम्म चलेको घातक द्वन्द्वमा परिणत भएको थियो ।

अनुतिन र फेउ थाई पार्टीका उम्मेदवार चैकासेम नितिसिरीलाई आधिकारिक रूपमा उम्मेदवारका रूपमा प्रस्ताव गरिएको छ । प्रधानमन्त्री बन्न दुवैलाई सदनमा बहुमत पाउन कम्तीमा दुई सय ४७ मत आवश्यक छ ।

हाल कार्यवाहक सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले मङ्गलबार संसद् विघटन गर्ने प्रयास गरे पनि, कार्यवाहक प्रधानमन्त्रीले राजाको प्रिभी काउन्सिलले यो माग अस्वीकार गरेको बताउनुभएको छ ।

पूर्वमहान्यायाधिवक्ता तथा न्यायमन्त्री चैकासेमले बिहीबार संसद्मा उद्घाटन सम्बोधन गर्दै आफू निर्वाचित भए तुरुन्तै संसद् विघटन गर्ने प्रतिज्ञा गर्नुभयो ।

अनुतिनले आफ्नै पार्टी र सहयोगी दलहरूबाट एक ४६ मत पाएको दाबी गर्नुभएको छ । पिपुल्स पार्टीले पनि आफ्ना एक सय ४३ सांसदले उहाँलाई समर्थन गर्ने बताएको छ । यसरी चार सय ९२ सदस्यीय सदनमा आवश्यक दुई सय ४७ बहुमत सजिलै पुग्ने देखिएको छ ।

अन्ठाउन्न वर्षीय अनुतिन सन् २०२३ मा सत्ता लिएको फेउ थाई नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुनुहुन्थ्यो । यसअघि उहाँले पूर्वप्रधानमन्त्री प्रयुथ चान–ओचाको नेतृत्वमा सेना समर्थित तर निर्वाचित सरकारमा समेत सेवा गरिसक्नुभएको थियो ।

अनुतिन गाँजाको अपराधीकरण अन्त्यका लागि प्रभावकारी लबिङ गर्ने नेताका रूपमा परिचित हुनुहुन्छ । हाल यो नीति चिकित्सा प्रयोजनका लागि कडाइका साथ नियमन भइरहेको छ । उहाँले कोभिड–१९ महामारीका समयमा स्वास्थ्यमन्त्रीका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । यद्यपि पर्याप्त खोप आपूर्ति ढिलाइ गरेको आरोपसमेत उहाँमाथि लागेको थियो ।

अनुतिन प्रधानमन्त्री बनेमा उहाँले पिपुल्स पार्टीलाई समर्थनको बदलामा चार महिनाभित्र संसद् विघटन गर्ने वाचा गर्नुभएको छ । पिपुल्स पार्टीका नेता नाथाफोङ रुएङपान्यावुतले नयाँ सरकारलाई सम्भावित अल्पमतमै छोडेर विपक्षमा बस्ने घोषणा गर्नुभएको छ ।

पिपुल्स पार्टीले नयाँ सरकारले निर्वाचित संविधानसभामार्फत संविधान संशोधनका लागि जनमतसङ्ग्रह गर्नुपर्ने माग राखेको छ । पार्टीले सैन्य शासनको समयमा लागू भएको संविधानलाई थप लोकतान्त्रिक बनाउन लामो समयदेखि दबाब दिइरहेको छ ।

यसअघि मुभ फरवार्ड पार्टी नामले चिनिने पिपुल्स पार्टीले सन् २०२३ को चुनावमा सबैभन्दा धेरै सिट जिते पनि, सदन र सिनेटको संयुक्त मतमा असफल भएपछि सत्ता हासिल गर्नबाट रोकिएको थियो ।

सैनिक शासनद्वारा नियुक्त र राजतन्त्रका कट्टर समर्थक रहेका सिनेटरहरूले मुभ फरवार्ड पार्टीको राजतन्त्र सुधार गर्ने नीति अस्वीकार गर्दै उनीहरूको उम्मेदवारविरुद्ध मतदान गरेका थिए । तर अहिले प्रधानमन्त्री चयनमा सिनेटको मताधिकार हटाइएको छ ।

मुभ फरवार्डलाई सत्ताबाट रोकिएपछि फेउ थाईले रियल स्टेट उद्यमी स्रेथा थाविसिनलाई गठबन्धन सरकारको नेतृत्वका लागि प्रधानमन्त्री बनायो । तर नैतिकता उल्लङ्घन गरेको ठहरसहित संवैधानिक अदालतले एक वर्षमै उहाँलाई पदच्यूत गर्‍यो ।

स्रेथाको स्थानमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाइयो, तर उहाँको सरकार पनि अनुतिनको भुमजाइथाई पार्टीले गठबन्धन त्यागेपछि कमजोर बन्दै गएको थियो ।

यसको परिणामस्वरूप फेउ थाई नेतृत्वको गठबन्धन संसद्मा अस्थिर र कमजोर बहुमतका साथ मात्र टिकेको छ ।
(रासस)

तपाईको प्रतिक्रिया