नेपाल र बङ्गलादेशबीच हुने खेलको तयारी पूरा

  ६ घण्टा अगाडि

काठमाडौँ, १९ भदौ : नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले जनाएको छ ।

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साझ ५ः३० बजेदेखि हुनेछ ।

उक्त खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नै नेपाल आइसकेको छ । बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरेको प्रवक्ता शाहले जानकारी दिनुभयो । उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ रू एक हजार र साधारण प्याराफिटर्फ रू पाँच सय टिकट दर निर्धारण गरिएको छ ।

दुवै खेलको समग्र विजेतलाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । यदी दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु एक करोड २७ लाख ५८ हजार एक सय ६८ खर्च लाग्ने आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया