बालबालिकासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

  ११ घण्टा अगाडि

काठमाडौँ, १९ भदौ : प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छफलका लागि विषयगत समितिमा पठाएको छ । प्रतिनिधिसभाको आजको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले राख्नुभएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावलाई सभाको सर्वसम्मति स्वीकृति प्राप्त भएको थियो । सभामुख घिमिरेले उक्त विधेयकमाथि संशोधन राख्न चाहनेले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भन्ने कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते दिउँसो १ बजे बस्नेछ ।
(रासस)

तपाईको प्रतिक्रिया