दोधारा चाँदनी (कञ्चनपुर), १९ भदौ : सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गर्न लागेको छ ।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निमार्ण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले एडिबीसँगको सम्झौताअनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्ण गर्न लागेको हो ।
प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले धार्मिक पर्यटनमा जोड दिएको बताउँदै एसियाली विकास बैंकको रु २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निमार्ण गरिने जानकारी दिनुभयो । “बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्णका लागि चालु आर्थिक वर्षमा रु सात करोड बजेट आएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्रामगृह निमार्ण गरेका थियौँ ।”
प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि होटेल व्यवसायी, होमस्टे (घरबास) प्रवर्द्धन र पर्यटक पथप्रदर्शकलाई तालिमको व्यवस्था गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । उहाँका अनुसार पर्यटकको सहजताका लागि कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा हेल्पडेस्क (सहायता कक्ष) सञ्चालनमा छन ।
“प्रदेश सरकारले यहाँका पर्यटकीय गन्तव्यको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “यसै वर्ष टिकापुरको विमानस्थल स्तरोन्नतिका लागि रु ७० लाख बजेट विनियोजन भएको छ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई मध्यनजर गर्दै प्रदेश सरकारको २५ प्रतिशत लगानीमा मझगाउँ विमानस्थल निमार्ण भइरहेको छ ।”
मन्त्रालयका प्रवक्ता श्रेष्ठले प्रदेश सरकारले प्रकृतिमा आधारित पर्यटनलाई विकास गर्न लागेको बताउनुभयो । उहाँका अनुसार स्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेकाले पर्यटन प्रवर्द्धनका लागि पहल थालिएको उहाँले उल्लेख गर्नुभयो ।
(रासस)