भारतको नयाँ बाढी चेतावनीपछि पूर्वी पाकिस्तानमा थप तीन लाख मानिस विस्थापित

  ३ घण्टा अगाडि

भारतले जारी गरेको पछिल्लो बाढी चेतावनीपछि पाकिस्तानको पञ्जाब प्रान्तका बाढी प्रभावित क्षेत्रहरूबाट विगत ४८ घण्टामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

यससँगै, गत महिनादेखि विस्थापितको कुल सङ्ख्या १३ लाख पुगेको छ ।

भारतको सीमामा नरोवाल र सियालकोट क्षेत्रमा आएको बाढीपछि पञ्जाबको मुजफ्फरगढ जिल्लाका धेरै गाउँ डुबानमा परेका छन् । प्रमुख सहरहरूलाई जोगाउन अधिकारीहरूले नदीको अतिरिक्त पानी खेततिर मोड्ने प्रयास गरिरहेका छन् । जसलाई पञ्जाबको इतिहासकै सबैभन्दा ठूलो उद्धार र राहत अभियान मानिएको छ ।

हजारौँ उद्धारकर्ताहरूले डुङ्गा प्रयोग गरेर मानिस र गाइवस्तुलाई सुरक्षित स्थानमा लैजाँदैछन् । सेनासमेत उद्धार कार्यमा खटाइएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक अरफान अली काठियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतले बुधबार बिहान कूटनीतिक माध्यममार्फत पाकिस्तानलाई नयाँ बाढी चेतावनी पठाएको हो । भारी वर्षा र बाँधबाट पानी छोडिएपछि २४ घण्टाभित्र नै यो दोस्रो चेतावनी आएको उहाँले बताउनुभयो ।

रावी, चेनाब र सतलज नदीहरूमा पानीको सतह उच्च बाढी स्तरमा पुगेको काठियाले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा छतमा फसेकाहरूलाई उद्धार गर्न ड्रोनको पनि प्रयोग भइरहेको छ । उहाँका अनुसार पञ्जाबका ३३ हजार गाउँका ३३ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । क्षतिको मूल्याङ्कन जारी रहेको र घर तथा बाली गुमाउनेलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिने तयारी भइरहेको उहाँले बताउनुभयो ।

भारतको पञ्जाब राज्यमा पनि बाढी र पहिरोका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानतर्फ अस्थायी टेन्ट शिविरहरू स्थापना गर्दै प्रभावित जनतालाई खाना र आवश्यक सामग्री उपलब्ध गराइँदैछ । तर धेरै प्रभावितहरूले सरकारी सहयोग अभावमा गुनासो गरेका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल करिब ४० हजार मानिस राहत शिविरमा बसिरहेका छन्, तर बाँकी कहाँ आश्रय लिइरहेका छन् भन्ने स्पष्ट छैन ।

मुजफ्फरगढ नजिकैको शेर शाह गाउँका ५४ वर्षीय किसान नूर मोहम्मदले कुनै सहयोग नपाएको बताउनुभयो । “स्थिति बिग्रिँदै गएपछि मैले परिवारलाई आफन्तकहाँ पठाएँ”, उहाँले डुबानमा परेको गाउँ हेर्दै भन्नुभयो ।

अर्का प्रभावित बासिन्दा मलिक रमजानले राहत शिविरमा जानेभन्दा पनि आफ्नो डुबानमा परेको घर नजिकै बस्न रोजेको बताउनुभयो । “शिविरमा कुनै सुविधा छैन, खाना समयमा पाइँदैन र हामीलाई भिखारी सरह व्यवहार गरिन्छ”, उहाँले गुनासो गर्नुभयो ।

यसैबीच, पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज सरिफ बुधबार मुजफ्फरगढ पुग्नुभएको थियो । उहाँले राहत शिविरमा विस्थापितहरूसँग भेटवार्ता गर्नुभयो । भारतले नयाँ बाढी चेतावनी जारी गरेको केही घण्टापछि उहाँको यो भ्रमण भएको हो ।

गत हप्ताको बाढीले कसुर, बहावलपुर र नरोवाल जिल्लामा ठूलो असर पुर्‍याएको थियो । यसक्रममा भारतीय सीमासँगै रहेको गुरु नानक मन्दिरसमेत डुबानमा परेको थियो । तर पानी घटेपछि सफा गरी पुनःस्थापना गरेपछि तीर्थयात्रीका लागि मन्दिर पुनः खोलिएको अधिकारीहरूले बताएका छन् ।

गत महिना भारतले सीमावर्ती क्षेत्रमा रहेका बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानले सामूहिक रूपमा निकासी अभियान सुरु गरेको थियो ।

पाकिस्तानमा यो पछिल्लो बाढी सन् २०२२ पछि सबैभन्दा विनाशकारी मानिएको छ । त्यतिबेला जलवायु परिवर्तनजन्य बाढीले करिब एक हजार सात सय जनाको ज्यान लिएको थियो ।
(रासस

तपाईको प्रतिक्रिया