काभ्रेपलाञ्चोक, १९ भदौ : सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि तेमाल गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा भदौ दोस्रो साता वडास्तरिय ‘घरदैलो सेवा’ अभियान सञ्चालन ग¥यो । पनौती नगरपालिकाले बुधबारदेखि १० दिनको शिविर आयोजना गरी सेवा सुरु गरेको छ ।
तेमालको शिविरबाट ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अपाङ्गता भएका व्यक्तिले निकै ठूलो राहातको महसुस गरे । एक साताको अभियानमा २ सय २४ लक्षित वर्गले सेवा लिएको गाउँपालिकाले जनाएको छ । ‘नागरिकलाई घरदैलो सेवा अभियान’लाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिनुभयो । उहाँका अनुसार बृद्धबृद्धा तथा अशक्तलाई सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको हो ।
नागरिकलाई स्थानीयस्तरमै सेवा दिने कार्यलाई निरन्तरता दिइने तथा यस्ता नविनतम् कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाउँदै गरेको थोकरको भनाई छ । तेमाल–६ निबासी ७५ वर्षीया वृद्धा धनमाया तामाङले आफु टाढासम्म जान निकै कठिन हुने भएकाले वडाकै टोलमा आएर परिचयपत्र बनाउन पाउँदा अब भत्ता नरोकिनेमा खुसी व्यक्त गर्नुभयो । उक्त अभियानका कारण विशेष गरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्रही उत्साहित देखिएको जनाइएको छ ।
यसअघि तेमालले गाउँ छाडेर सहर बस्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिएको थियो । विशेषगरी सामाजिक सुरक्षा भत्ता बितरण एवं परिचयपत्र नविकरण गर्नुपर्ने काठमाडौ उपत्यकालगायतका सहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत ५ सय ९१ नागरिकलाई सेवा दिएको थियो ।
यस्तै बुधबारदेखि पनौती नगरपालिकाले १० दिने शिविरमार्फत सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवाग्राहीलाई लक्षित गरी वडा नं १ बाट सेवा सुरु गरेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र निर्माणलाई प्राथमिकता दिई शिविर सञ्चालन सुरु लागिएको नगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो ।
(रासस)