काठमाडौँ, १९ भदौ : नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आगामी असोज १० गतेसम्म जारी रहने छ ।
परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरुका सृजना समावेश छन् । इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौँ उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
(रासस)