फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

  ८ घण्टा अगाडि

चितवन, १७ भदौ : यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।

यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुने फूलखेती सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “बुबाले गरेको व्यावसायिक फूलखेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि बढाएको हुँ ।”

विगत तीन वर्षदेखि सजावटमा प्रयोग हुने फूल खेती गर्न थालेको उहाँले बताउनुभयो । “बुबाले सयपत्री फूलको व्यापार गर्नुहुन्थ्यो । मैले यसैलाई विस्तार गरेँ”, उहाँले भन्नुभयो, “कोरोना भन्दा पहिला काठमाडौँमा बसेर विज्ञापनको ‘कास्टिङ डाइरेक्टर’को काम गर्थेँ । कोरोनाकालमा घर आएँ । सोही समयमा फूलको माग बढेको देखेर यही काममा लागेँ ।” बजारमा कामिनी फूल रु ८० देखि एक सय र जिप्सी रु दुई हजारसम्म पर्ने गर्दछ । कामिनीको हाँगासहित बिक्री हुँदै आएको छ ।

सुरुआती समयमा परीक्षणका रूपमा यी फूल खेती गरेको भए पनि अहिले यसलाई व्यावसायिक रूपमा विस्तार गरेको श्रेष्ठले बताउनुभयो । हाल यहाँ उत्पादित फूल चितवनसहित काठमाडौँ, पोखरा, वीरगञ्ज, बुटवल, दाङसम्म पठाउने गरेको उहाँले बताउनुभयो । व्यवसायलाई अझै बढाउने तयारीमा रहनुभएका ३८ वर्षीय श्रेष्ठले परिवारका सदस्यबाहेक १९ जनालाई रोजगारी दिनुभएको छ ।

उहाँले चितवन र नवलपरासीमा गरी तीन बिघा क्षेत्रफलमा कामिनीसहित अन्य फूल लगाउनुभएको छ । “पहिले सयपत्री फूलको माला रु १० मा किनिदिनुस् भनेर भन्दा पनि बिक्री हुँदैनथ्यो । अहिले भएको व्यवसाय देखेर सन्तुष्ट छु”, सुरुआतका दिन सम्झँदै उहाँले भन्नुभयो, “रातभरि माला बुनेर बिहान बजारमा बिक्रीका लागि लैजाँदा किनिदिने मान्छे कोही हुँदैनथ्यो । अहिले फूलको प्रयोग बढ्दै गएको छ ।” उहाँ हाल पुष्प व्यवसायबाट सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया