काठमाडौँ, १६ भदौ : तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना गरिएको छ ।
बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा क्षेत्रीय होटल सङ्घ बन्दीपुर एकाइले आज यहाँ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बन्दीपुरको पर्यटन यात्रा विगतमा आरोह–अवरोहपूर्ण रहे पनि हाल क्रमशः लयमा फर्किएको बताउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा समृद्ध बन्दीपुरको पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायको मुख्य भूमिका हुने बताउनुभयो । अर्थमन्त्री पौडेलले पूर्वाधार निर्माणका लागि सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका संयोजक आशुतोष प्रधानले बन्दीपुरलाई ‘नेपालको पहाडी भेगको लिभिङ म्युजियम’का रूपमा चित्रण गर्नुभयो । उहाँले त्यहाँका पुराना नेवारी शैलीका घर र गल्ली, थानी माई मन्दिर, खड्गदेवी मन्दिर, विशाल टुँडिखेल मैदान, सिद्ध गुफा तथा गुरुङ, नेवार, मगर समुदायको परम्परागत संस्कृति र भोजन पर्यटकका लागि विशेष आकर्षणका रूपमा रहेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले हाल ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ सञ्चालन भइरहेको जानकारी दिनुभयो । यस अभियानले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने र राजधानीमा आयोजित ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रमले त्यहाँको सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा ठूलो योगदान पुग्ने उहाँको विश्वास थियो ।
त्यस अवसरमा बन्दीपुरको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदानकर्तालाई सम्मान गरिएको थियो । शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका चीजकुमार श्रेष्ठ, स्वास्थ्य क्षेत्रमा डा मदनकुमार पिया र पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने सन्तकुमार श्रेष्ठलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।
बन्दीपुर नेपालकै चर्चित पर्यटकीयस्थलमध्ये एक हो । यो क्षेत्र सूर्योदय र सूर्यास्त अवलोकनका लागि पनि प्रख्यात छ । तनहुँ जिल्लाको पुरानो सदरमुकामका रूपमा चिनिने यो सहर मोटर यातायातको सुविधा नभएको बेला कास्की, लम्जुङ, गोर्खा र मनाङका लागि दक्षिणबाट सामान ल्याउने प्रमुख व्यापारिक नाका थियो । सदरमुकाम दमौली सारिए पनि बन्दीपुर आफ्नो सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यका कारण विश्वको चर्चित गन्तव्य बनेको छ ।
त्रिशूली नदीको उपत्यका र हिमालको फेदबीच पहाडी चौरमा अवस्थित बन्दीपुरबाट अन्नपूर्ण, मनास्लु, लम्जुङ र धौलागिरि हिमाल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँ पदयात्रा, गाउँघुम्ती र होमस्टे अनुभव, ऐतिहासिक तथा धार्मिकस्थल अवलोकन र सांस्कृतिक कार्यक्रमका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको त्यस अवसरमा बताइएको राससमा उल्लेख छ ।