चौतारा, १६ भदौ : जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमी, मौसम परिवर्तनजस्ता कारणले घुम्ती गोठमार्फत चौँरी, याक तथा भेँडापालन गर्नेहरु कम हुँदै गएका हुन् ।
खर्कमा चौरी र याकसँगै फिरन्ते जीवन बिताउने सिन्धुपाल्चोक जुगल गाउँपालिका तेम्बाथनका पासाङ शेर्पालाई हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनका कारण यो पेसामा चुनौती बढेको छ । खर्कमा पहिलेजस्तो घाँस नपाइने भएका कारण चौरीलाई घाँस पु¥याउन हम्मेहम्मे पर्दा चौँरीपालन व्यवसाय सङ्कटमा परेको शेर्पा बताउनुहुन्छ ।
पासाङको अनुभवमा हिमाली क्षेत्रमा पहिलेको तुलनामा चिसो छैन । “हिमालमा हिउँ छैन, त्यसैले चिसो नभएको हुनसक्छ”, उहाँ भन्नुहुन्छ । पहिले–पहिले बाह्रैमास हिउँले टल्कने हिमाल अहिले काला पहाडमा परिणत भएको उहाँले सुनाउनुभयो ।
पाँचपोखरी क्षेत्रको खर्कमा हुर्केर आफ्नो जीविका चौँरी तथा भेडागोठले धानेका लाङगर्चेका ईन्द्रबहादुर गुरुङ भने यो पेसाबाट पलायन हुनुभयो । उहाँका छोराछोरी कोही काठमाडौँतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडीमूलुक पुगेका छन् । चौरी, भेडा धमाधम मर्न थालेपछि ईन्द्रबहादुरको पुस्ताँैदेखिको आयस्रोतको यो पेसामा पूर्णविराम लागेको हो । पहिले जस्तो मौसम अनि चौँरी तथा भेडाका लागि चरनयोग्य सामग्री नहुँदा आफूले पेसाबाटै विश्राम लिएको उहाँ बताउनुहुन्छ ।
चाँैंरी, याक र भेडाका लागि लेकाली क्षेत्रमा जङ्गलबीचको खर्कमा गोठ बनाएर त्यही घाँस पानी गर्ने प्रचलन छ । पहिले चौँरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौँरिपालक किसानको भनाइ छ । मौसम चौँरीअनुकुल नभएपछि घाँसको अभाव हुने, अन्य चरनयोग्य प्राकृतिक दाना नपाइने हुँदा चौँरी मर्न थालेको अर्का किसान दलु लामा बताउनुहुन्छ । विभिन्न रोगले पशुु मर्नुका साथै उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीका कारण पुस्तौँदेखि गर्दै आएको यो पेसाप्रति युवा पुस्तामा निराशा बढ्दै गएको लामाको भनाइ छ ।
वर्षको तीन महिना जाडो समयमा मात्र मानवबस्ती छेउछाउ पुग्ने उनीहरु अधिकांश समय हिमाली खर्कमा बिताउँछन् । सिन्धुपाल्चोकको लेकाली भेगका तामाङ र शेर्पा समुदायका नागरिकको मुख्य आम्दानीको स्रोत चौरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी घिउ तथा भेडाको रौँबाट बन्ने राडीपाखीलगायतका सामग्री हुन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौरीपालन हुने गरेको छ । स्थानीय पालिकाको कृषि तथा पशु शाखाका अनुसार खर्कमा चौरी तथा भेडापालन गर्ने किसानको सङ्ख्या जिल्लामा एक सय ३१ छ । चौरी, याक र भेडाको संरक्षण गर्न सिन्धुपाल्चोकका पालिकाले बिमा कार्यक्रम ल्याएका छन् । वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने यो क्षेत्रलाई व्यावसायिक बनाउन प्रयत्न गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा बताउनुहुन्छ ।
पालिकाको प्रयासका बावजुद पनि सिन्धुपाल्चोकका लेकाली खर्कमा अहिले चौरी गोठ घट्दै गएको छ । अझै परम्परागतरुपमै भइरहेका पशुपालनलाई आधुनिक बनाउन सकिएको छैन । राज्य तहबाट पनि यो पेसालाई प्रोत्साहन नगरिएको हुँदा चाहेर पनि स्थानीयले यो पेसालाई परम्परागत भन्दामाथि लैजान सकेका छैनन् ।
(रासस)