अमरगढी (डडेल्धुरा), १२ भदौ : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार ठाँटा बजारबाट डडेल्धुुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको राससमा उल्लेख छ ।