आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँः मन्त्री भण्डारी

  ४ घण्टा अगाडि

काठमाडौँ, १२ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्रै उपभोक्तालाई दिइने बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना हुने ‘लगानी तथा विकास सम्मेलन’सम्बन्धी आज यहाँ अन्तरक्रिया कार्यक्रममा उहाँले जनस्वास्थ्यलाई प्रतकिूल असर नपरोस् भन्ने उद्देश्यले आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिइने बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “मुलुकभित्र अन्तरराष्ट्रियस्तरको मापदण्डसहितका उद्योग, कलकारखाना स्थापना गर्नेछौँ । यसले नेपालको उद्योगको विकास, नागरिकको जीवनस्तरमा सुधारमा दीर्घकालीन महत्त्व राख्ने छ ।” उहाँले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेकाले नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटिपिपी)मार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधामा निर्यात गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

नेपालली वस्तुको व्यापारले पछिल्लो समय विश्वबजारमा प्राथमिकता पाइरहेको बताउँदै उहाँले सङ्घीय सरकारले आमउपभोक्ताको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता नगर्ने नीतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले गलैँचा, पश्मिनाजस्ता वस्तु नेपालीका पहिचान भएकाले यस्ता उद्योगको संरक्षण गरी उत्पदान बढाउनेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा औद्योगिक विकासका लागि पर्याप्त पूर्वाधार रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई सङ्कोचबिना लगानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा उद्योग स्थापनाका लागि आवश्यक जमिन प्रदेश सरकारले उपलब्ध गराउनेछ । हामी निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेशको सम्भावनालाई यथार्थमा बदल्न चाहन्छौँ, सबमा सबैको सहयोग जरुरी छ ।”

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा जलस्रोत, पर्यटन, कृषि, जडीबुटी, खनिजलगायत क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यहाँको आर्थिक रुपान्तरणका लागि यी क्षेत्रमा तत्काल लगानी आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रमका अधिकांश सहभागीले सुदूरपश्चिम प्रदेशमा औद्योगिक विकासका लागि प्रशस्त सम्भावनासहित आवश्यक पूर्वाधार रहेकाले त्यहाँ लगानीका लागि ढिलाइ गर्न नहुने धारणा रख्नुभयो ।
(रासस)

तपाईको प्रतिक्रिया