काठमाडौँ, १२ भदौ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा विकृति विसङ्गती हटाएर सद्भाव सिर्जना गर्न सत्सङ्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभएको छ ।
काठमाडाैँ महानगरपालिका–१० मध्यबानेश्वरस्थित कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन उद्घाटनपछि मन्त्री सिंहले अहिलेको अवस्थामा समाजमा सहकार्य र सद्भाव जरुरी रहेको बताउँदै सत्सङ्गले मानिसलाई सकारात्मक काममा केन्द्रित गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सत्सङ्ग र सन्तलाई बस्ने, खाने, ध्यान गर्ने केन्द्रको सुविधाका लागि सबैले आफूले सक्ने सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । भवन निर्माणप्रति आफू पनि सकारात्मक रहेको उहाँको भनाइ छ ।
बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले जीवनलाई सहिदिशातर्फ डोर्याउन सत्सङ्ग अत्यन्त जरुरी रहेको अनुवभ सुनाउनुभयो । काठमाडाँै महानगरपालिका–१० मा रहेको कवीर सत्सङ्ग आश्रममा आपूm सानैदेखि ध्यानकर्म गर्दै र कविरका सत्यवचन सुन्दै आएको बताउदै सांसद श्रेष्ठले सन्तको व्यवस्थापनमा भवन बनेकोमा खुसी व्यक्त गर्नुभयो ।
काठमाडाैँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले टोल र समाजमा सद्विचारको प्रवाह गर्न आश्रम प्रभावकारीस्थल रहेको बताउनुभयो । आश्रमका प्रमुख आर्दश दासले विसं २०५३ मा कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको स्थापना भएको बताउँदै भवन निर्माण भएपछि देशविदेशबाट आउने सन्तगुरु र भक्तजनलाई ध्यान, भजन, अध्ययन र विश्राम गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्सङ्ग जहाँ छन्, त्यहाँ शुभ हुन्छ । सोही विश्वासअनुसार सबै सत्सङ्गमा लाग्नुपर्छ ।”
(रासस)