नेपालमा पहिलो पटक एआई सुरक्षासम्बन्धी भेलाको आयोजना गरिएको छ। मंगलबार राजधानीमा आयोजित भेलामा ६० भन्दा बढी प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूले अन्तर्क्रिया गरेका थिए । भेलाले नेपालमा जिम्मेवार, नैतिक र दूरदर्शी कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगबारे राष्ट्रिय संवाद सुरु गरेको हो ।
नेपाली संस्था ‘एनोभेटर्स’ र बेलायतस्थित गैर-नाफामूलक संस्था ‘ब्लुडट ईम्प्याक्ट’को संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले सूचनामूलक प्रस्तुतिहरू दिए । साथै जिम्मेवार र नैतिक रूपमा एआईको विकास गर्न किन महत्त्वपूर्ण छ भन्ने कुरामा विचार विमर्श गरे । एनोभेटर्स भन्ने संस्था नेपालमा एआई साक्षरता फैलाउन युवाहरूको पहलबाट गठन गरिएको एक संस्था हो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव मधुकुमार मरासिनीले आफ्नो ‘कि-नोट स्पिच’ मा ‘एआई गभर्नेन्स: एआई सुरक्षा र गभर्नेन्सका लागि नीतिगत आधारहरू’ शीर्षकमा विचारहरू प्रस्तुत गरे ।
पछिल्लो समयमा भएको प्रविधिको तीव्र विकास र नेपालले जिम्मेवार एआई प्रणाली निर्माण गर्न गरिरहेको प्रयासबारे चर्चा गर्दै मरासिनीले नवीनतम प्रविधिहरू अँगाल्दै अघि बढ्नुपर्ने र सबै नागरिकलाई डिजिटल प्रविधिहरूको प्रयोगबारे बुझाउनुपर्ने आवश्यकतामाथि जोड दिए।
नेपालमा एआई गभर्नेन्स र सुरक्षाका लागि स्पष्ट दृष्टिकोण चाहिएको भन्दै उनले थपे, “नेपाल एआई गभर्नेन्समा पछाडि पर्नुहुँदैन । साथै सरकारले एआईलाई आत्मसात गरी हरेक नागरिकले घरबाटै सरकारी सेवा लिन मिल्ने गरी अझै सरल र सहज बनाउने दिशामा अगाडि बढ्नुपर्छ।”

कार्यक्रममा नेपालकै पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेतीले सहभागीहरूलाई नेपालको ५५ वर्ष पुरानो कम्प्युटर प्रविधिको यात्रामा फर्काए । उनले नेपालमा प्रविधिको विकासको ऐतिहासिक सन्दर्भ प्रस्तुत गरे । उनले वि.सं. २०२८ को जनगणनाको नतिजा प्रशोधन गर्न नेपाल भित्र्याइएको आईबीएम १४०१ मेनफ्रेम कम्प्युटरसँग गरेको काम, राष्ट्रिय कम्प्युटर केन्द्रमा उनको भूमिका र पछि प्रमुख निर्वाचन आयुक्तको रूपमा नेपालको निर्वाचन प्रक्रियालाई आधुनिक बनाउन गरेको प्रयत्नको बारेमा जानकारी दिए ।
कार्यक्रममा ‘सिंगापुर एआई सुरक्षा हब’को प्रतिनिधित्व गर्दै भर्चुअल माध्यमबाटै सहभागी भएकी भ्यालेरी प्याङ्ले दक्षिणपूर्वी एसियामा अपनाइएका उत्कृष्ट अभ्यासहरूका बारेमा जानकारी दिइन् । उनले एआई सुरक्षा र जिम्मेवार एआई विकासलाई बढावा दिन सिंगापुरमा भइरहेका सहयोगात्मक प्रयासहरूका बारेमा बताइन् ।

यसैगरी प्रकृति भट्टराई र चन्दन गुप्ताले सहभागीहरूलाई एआई युगका लागि तयार रहन, एआईमा हुने विभेद र असमानताको सामना गर्न, जिम्मेवार एआई, र दैनिक काममा एआईको नैतिक एवम् जिम्मेवारपूर्ण प्रयोगबारे जानकारी दिए । कार्यक्रममा प्रतिक दाहालले हालका लार्ज ल्याङ्गविज मोडल (एलएलएम) हरूसँग सम्बन्धित जोखिमहरूबारे पनि संक्षिप्त कुरा राखे ।

कार्यक्रममा एआई सम्बन्धित एउटा अन्तरक्रियात्मक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिताका दुई विजेतालाई २०० अमेरिकी डलर बराबरको ‘पर्प्लेक्सिटी प्रो इन्टरप्राइज एडिसन’को ६ महिने निःशूल्क सदस्यता प्रदान गरिएको थियो ।





