काठमाडौँ, ९ भदौ : भारतीय गायिका पलक मुछालले पहिलोपटक काठमाडौँमा साङ्गीतिक प्रस्तुती दिनुहुने भएको छ । आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने टुङ्गो लागेको आयोजक संस्थाका ‘इभेन्ट म्यानेजर’ मनिष कार्कीले जानकारी दिनुभयो ।
“यसअगाडिका कार्यक्रमको सिकाइलाई प्रयोग गर्दै यसलाई भव्य र सभ्य बनाउने छौँ । उहाँ नेपाल आउन इच्छुक हुनुहुँदो रहेछ, त्यही भएर हामीले साङ्गीतिक कार्यक्रममा प्रस्तुत गर्न लागेका हौँ”, कार्कीले भन्नुभयो ।
गायिका मुछालले एक श्रव्यदृश्यमार्फत सन्देश जारी गर्दै आफू नेपाल आउन उत्साहित रहेको बताउनुभएको छ । “म नेपाल आउने कुराले खुसी छु, म नेपालीलाई गीत सुनाउन र नचाउन अधैर्य छु”, उहाँले भन्नुभएको छ । यसअगाडि ‘नोरा फतेही लाइभ इन नेपाल’ आयोजना गरेको वल्र्डवाइड फिल्म्स नेटवर्क प्रालिको आयोजना र मनु मिडिया प्रालिको व्यवस्थापनमा उहाँ काठमाडौँ आउन लाग्नुभएको हो ।
गायिका मुछालको ‘कौन तुझे’, ‘प्रेम रतन धन पायो’, ‘चाहूँ मैं या ना’, ‘तेरी मेरी कहानी’, ‘जुम्मे की रात’, ‘सनम तेरी कसम’ लगायतका गीतहरू लोकप्रिय छन् ।