बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

  ३ घण्टा अगाडि

म्यान्माको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् । त्यो रात मुसलधारे वर्षामा उनी आमाबाबु र चार दाजुभाइसँग नाफ नदी पार गर्दै बङ्गलादेश प्रवेश गरेका थिए ।

आज २८ वर्षीय कैसर बालुखाली शिविरको साँघुरो झुपडीमा बस्छन् । “घर फर्कन सम्भव छैन, युद्ध जारी छ । यहाँ हरेक दिन नयाँ शरणार्थी आउँछन्”, उनले भने ।

– बढ्दो सङ्कट –

बङ्गलादेशले संयुक्त राष्ट्रसङ्घसँग मिलेर रोहिङ्ग्या समस्यामा वार्ता थालेको छ । सेप्टेम्बर ३० मा न्युयोर्कमा हुने सम्मेलनअघि कोक्स बजारमा छलफल भइरहेको छ संयुक्त राष्ट्रसङ्घका अधिकारी निकोलस कौमजियानले भन्नुभयो, “रोहिङ्ग्या फर्कन चाहन्छन्, तर सुरक्षित भए मात्र सम्भव हुन्छ ।”

तर राखाइन अहिले गृहयुद्धको केन्द्र बनेको छ ।

सन् २०२४ यता मात्र थप एक लाख ५० हजार रोहिङ्ग्या बङ्गलादेश पुगेका छन् ।

– शिविरको अवस्था –

कैसरले म्यान्मामा किराना पसल चलाउँथे, तर अहिले शिविरमा अस्तित्वका लागि सङ्घर्ष छ । गुटगत झडप, कमजोर सुरक्षा र हिंसाले बसाइ असुरक्षित बनाएको छ । “हामी बन्धकझैँ छौँ, बालबालिका सबैभन्दा बढी जोखिममा छन्”, उनले भने ।

अमेरिकी सहयोग कटौतीपछि खाद्यान्न सङ्कट चर्किएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार राखाइनका आधाभन्दा बढी परिवारलाई आधारभूत खाना पुग्दैन । शिविरमा हरेक व्यक्तिले मासिक करिब १२ डलर बराबरको राशन पाउँछन् — १३ किलो चामल, एक लिटर तेल, थोरै प्याज, लसुन र नुन । कैसर भन्छन्, “यसले पेट त भरिन्छ तर पोषण हुँदैन । मेरो तीन वर्षको छोरोलाई दूध वा दाल दिन सक्दिनँ ।”

– शिक्षा र भविष्य –

शिक्षा अर्को चुनौती बनेको छ । “के मेरो छोरो पढेर जागिर पाउनेछ, वा जीवनभर शरणार्थी नै रहनेछ ?”, कैसर चिन्तित छन् । प्रारम्भमा गाउँलेहरूले मद्दत गरे पनि दीर्घकालीन भविष्य अन्धकारमय देखिन्छ ।

यसैबीच, म्यान्मा जुन्तासँग नजिक रहेका केही समूहले रोहिङ्ग्याहरूलाई भर्ती गर्न खोजिरहेका छन् । “हरेक पक्षले हामीलाई प्यादाका रूपमा प्रयोग गर्छ”, कैसरको पीडा छ ।

उनको सरल अपिल छ, “बङ्गलादेशले रोहिङ्ग्या बालबालिकालाई स्थानीय विद्यालयमा पढ्न दिनुपर्छ । कमसेकम उनीहरूको भविष्य हाम्रो जस्तो निराशाजनक नहोस् ।”
(रासस)

तपाईको प्रतिक्रिया