कञ्चनपुर, ९ भदौ : कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उहाँको घर भत्काएको हो ।
सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताउनुभयो । उहाँका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न नष्ट भएको छ ।
हात्तीले घरभित्रको खाद्यान्न खानुका साथै घर भत्काएपछि भाट परिवारको विचल्ली भएको छ । ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीका अनुसार यही भदौ ४ गतेदेखि जङ्गली हात्ती बस्तीमा छिर्न सुरु गरेका हुन् । हालसम्म २७ परिवारको १० बिघा जग्गामा लगाइएको धानबाली, मकैबालीमा हात्तीले क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।
सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोखेती र १५ हेक्टर क्षेत्रफलमा लगाइएको नेपियर घाँस खाएर सखाप पारेको जोशीले बताउनुभयो । “यहाँ उत्पादित अम्रिसोबाट कुचो तयार गरी बेच्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “वर्षमा अम्रिसोबाट मात्रै रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो, हात्तीले पूरै खेतीमा क्षति पु¥याएको छ ।”
सामुदायिक वनको आम्दानी गुमेको उहाँले बताउनुभयो । सचिव जोशीका अनुसार बस्तीमा जङ्गली जनावर छिर्न नदिनका लागि लगाइएको मेसवायर हात्तीले ठाउँठाउमा तोडेको छ ।
सामुदायिक वनको अम्रिसो खाँदै हात्ती बस्तीमा छिर्ने गरेको स्थानीय मदन नेपालीले बताउनुभयो । “हात्ती नियन्त्रणका लागि माग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सरोकार भएका निकायले अहिलेसम्म चासो दिएका छैनन् ।” तत्काल हात्ती नियन्त्रणको पहल गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।