कञ्चनपुर, ९ भदौ : शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी कन्यादेवी राना पछिल्लो चार वर्षदेखि दुनाटपरी बनाउने व्यवसायमा संलग्न रहदै आउनु भएको छ । दैनिक जीवनयापनका लागि सुरु गरिएको व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ ।
रानाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आउनु भएको छ । समितिले अवलोकन भ्रमण, आधारभूत तालिमसँगै दुनाटपरी बनाउने मेसिन र डाई खरिदका लागि करिब रु सात लाख सहयोग गरेको छ ।
दुनाटपरी बनाउन आवश्यक कच्चापदार्थ सालका पातका लाफा(सालका पातलाई एक आपसमा गाँस्ने कार्य) लालझाडीका स्थानीय बासिन्दाबाट खरिद गर्दै आएको राना बताउनुहुन्छ । उहाँका अनुसार एउटा लाफाको मूल्य ५० पैसा देखि २ रुपैयाँसम्म पर्छ । केही सालका पात नागेश्वर सामुदायिक वनबाट सङ्कलन गरी ल्याइने गरिएको उहाँले बताउनुभयो ।
मासिक रुपमा रु ४० हजार बराबरका लाफा मात्रै खरिद हुने गरेका छन् । “पातका तयार गरिएका लाफा तथा पात ल्याएर सुकाइन्छ,” रानाले भन्नुभयो, “त्यसपछि मेसिनमा राखेर आवश्यकताअनुसारका दुनाटपरी तयार गर्दै आएका छौंँ ।”
बनाइएका दुनाटपरी एक रुपैयाँदेखि पाँच रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । रानाले पाँच प्रकारका दुनाटपरी उत्पादन गर्ने गरेको बताउनुभयो । विवाह, व्रतबन्ध, पूजाआजाजस्ता धार्मिक तथा सांस्कृतिक काममा दुनाटपरीको माग बढी हुन्छ, भने अन्य समयमा अलि कम हुन्छ । दुनाटपरी प्रायः ५० वा १०० को प्याकेटमा तयार गरेर बजारमा पु¥याइन्छ ।
“महिनामा खर्च कटाएर रु ३० हजार जति कमाइ हुन्छ,” उहाँले भन्नुभयो, “माग धेरै भए पनि पात अभावका कारण उत्पादन बढाउन सकिएको छैन ।” सामुदायिक वनले चाहेजति पात सङ्कलन गर्न अनुमति नदिँदा उत्पादन सीमित मात्रामा हुने गरेको उहाँ बताउनुहुन्छ । रानाले बनाएका दुनाटपरी महेन्द्रनगर, धनगढी, डडेल्धुरा र अत्तरियासम्म बिक्री हुने गर्छ ।
त्यस्तै, स्थानीय पूजा सामग्री बेच्ने व्यवसायीलेसमेत ठूलो मात्रामा खरिद गर्ने गरेका छन । “पोखरा र काठमाडौँसम्मबाट समेत दुनाटपरीको अर्डर आएको थिया”। उहाँले भन्नुभयो, “तर कच्चापदार्थ अभावले पठाउन सकेनौंँ ।” राना आफ्नै घरमा मेसिन प्रयोग गरेर दुनाटपरी तयार गर्नुहुन्छ । तयार भएको दुनाटपरी बजारसम्म पु¥याउने, पात र लाफा खरिद गर्ने काममा उहाँका श्रीमान् रतनलाल रानाले सहयोग गर्नुहुन्छ ।
“उद्योगलाई अझ विस्तार गर्न सकिन्छ, तर कच्चापदार्थकै समस्या छ,” रतनलालले भन्नुभयो, “सामुदायिक वनसँग निरन्तर समन्वय गरेर आवश्यक पात उपलब्ध गराउने प्रयास भइरहेको छ ।”दुनाटपरी उत्पादन व्यवसायका अवसर धेरै भए पनि कच्चापदार्थ अभावले ठूलो चुनौती बनिरहेको उहाँ बताउनुहुन्छ । यदि उत्पादन बढाउन सकिने अवस्था बनेमा पात सङ्कलन गर्ने, लाफा तयार गर्ने र सिन्का बनाउने स्थानीयलाई रोजगारी दिन सकिने उहाँको भनाइ छ ।
“दुनाटपरीलाई प्लास्टिकको विकल्पका रूपमा प्रयोग गरिनुपर्छ” सुनदेवी उपभोक्ता समितिका कोषाध्यक्ष हबलदार चौधरीले भन्नुभयो, “स्थानीय तहले प्लास्टिकयुक्त प्लेट लगायतका वस्तुको निषेध गरी वातावरण मैत्री दुनाटपरीलाई प्रवद्र्धन गर्न आवश्यक छ ।”प्लास्टिकमुक्त क्षेत्र घोषणा भए दुनाटपरी उद्योगलाई अगाडि बढाउन सकिने उल्लेख गर्नुहुदै उहाँले वातावरण स्वच्छ हुने मात्र नभएर स्थानीयलाई रोजगारी दिन सकिने बताउनुभयो ।
समितिले दातृ निकायसँग समन्वय गरी उद्योगलाई थप व्यवस्थापन गर्न सहयोग जुटाउने प्रयास गरिरहेको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार सामुदायिक वनसँग पात सङ्कलनमा सहजता ल्याउन सहमति भएको राससमा उल्लेख छ ।