शान्ति प्रयास अवरुद्ध भएपछि जेलेन्स्कीद्वारा पुटिनसँग वार्ताको आवश्यकतामा जोड

  ६ घण्टा अगाडि

किएभ, ८ भदौ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रोकिएको कूटनीतिक प्रयासबीच रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्ता ‘सबैभन्दा प्रभावकारी बाटो’ हुने बताउनुभएको छ ।

युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा गरेको टेलिभिजन सम्बोधनमा उहाँले प्टिनसँगको वार्तामा जोड दिनुभएको हो ।

युक्रेनीहरूले आफ्नो स्वतन्त्रता दिवस मनाइरहँदा ‘युक्रेनमा रूसी आक्रमण’ चौथो वर्षमा प्रवेश गरेको छ। युद्ध जारी रहँदा आइतबार युक्रेनले रुसमाथि ड्रोन आक्रमण गरेको छ ।

आक्रमणका कारण एक रूसी आणविक ऊर्जा संयन्त्रमा आगो लागेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस शिखर सम्मेलनका लागि मध्यस्थता गर्ने भन्दै युद्ध अन्त्यका लागि दबाब दिएपनि रुसले पुटिन र जेलेन्स्कीबीच तत्काल कुनै पनि भेटवार्ता हुन नसक्ने बताएपछि युक्रेनमा शान्तिको आशा क्षीण भएको छ तर जेलेन्स्कीले आइतबार पुटिनसँग द्विपक्षीय शिखर वार्ताको आह्वान गर्दै ‘नेताहरूबीचको वार्ताको ढाँचा नै सबैभन्दा प्रभावकारी बाटो भएको’ बताउनुभएको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले यसअघि पश्चिमा मुलुकहरूले ’वार्ता अवरुद्ध गर्ने बहाना’ खोजेको आरोप लगाउँदै जेलेन्स्कीले ‘कुनै पनि हालतमा तत्काल बैठकको माग’ गरेको भन्दै आलोचना गर्नुभएको थियो ।

जेलेन्स्कीले अमेरिकी राजदूत किथ केलोग र अन्य पश्चिमी अधिकारीहरूको उपस्थितिमा आयोजित समारोहमा रूसलाई शान्तितर्फ धकेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युद्धले दशँैं हजार मानिसको ज्यान लिइसकेको अवस्थामा रुसले हालै पूर्वी डोनेट्स्क क्षेत्रका दुई गाउँलाई शनिबार आफ्नो कब्जामा लिएर नयाँ प्रगतिको दाबी गरेको छ ।

युक्रेनी कमाण्डर इन चिफ ओलेक्सान्डर सिस्र्कीले आइतबार डोनेट्स्कमा रहेका अन्य तीन वटा गाउँलाई पुनः प्राप्त गरिएको बताउनुभएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया