काठमाडौँ, ८ भदौ : खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबिच वीरगञ्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।
मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी वीरगञ्जमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा छलफल गर्नुभएको खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले बताउनुभयो ।
छलफलमा वीरगञ्जका प्रभावित क्षेत्रमा कोलेरा कीट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय तहबीच समन्वय गरी आवश्यक कदम चाल्ने सहमति भएको छ। वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा र टोलमा देखापरेको हैजा सङ्क्रमण नियन्त्रण गर्न मन्त्रालयले सक्दो प्रयास गरिरहेको सहसचिव श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वीरगञ्जमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्णरूपमा सक्रिय छौँ। यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य छ ।” (रासस)