तीज पर्वले आपसी सद्भाव कायम गरेको छ’

  ५ घण्टा अगाडि

काठमाडौँ, ८ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीज पर्वले आपसी भाइचाराको सम्बन्ध कायम गरेको बताउनुभएको छ ।

सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एसोसिएसन (एसकाज)ले तीज पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘सामूहिक तीज कार्यक्रम’मा उहाँले तीज पर्वले आपसी भाइचाराको सम्बन्ध कायम गर्दै लगेको बताउनुभएको हो ।

मन्त्री खड्काले विगतमा हिन्दू महिलाको चाडका रूपमा मात्र लिने तीज पर्व पछिल्लो समय सबैको साझा पर्वका रूपमा विकास हुँदै गएको बताउनुभयो । मानसिक र शारीरिक थकान मेटाउने माध्यम तीज पर्व हुँदै गएको उहाँको भनाइ थियो ।

मन्त्री खड्काले प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपले धनी सङ्खुवासभाको विकासका लागि काठमाडौँमा रहेर पत्रकारिता पेसामा सक्रिय सञ्चारकर्मीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता राजेन्द्र गौतमले महिला सशक्तीकरणमा तीज पर्वले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । समयको परिवर्तनसँगै तीज व्यावसायिक हुँदै गएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजेन्द्र कार्की, कांग्रेस नेत्री विनिता थापा खड्का, एसोसिएसनका अध्यक्ष शङ्कर खनालले आफ्नो धारणा राख्नुभएको थियो ।
(रासस)

तपाईको प्रतिक्रिया