काठमाडौँ, ७ भदौ : लेखक एवम् पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को विमोचन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज एक कार्यक्रमका बीच उपन्यास विमोचन गर्नुभएको हो ।
उक्त उपन्यास कांग्रेस नेता एवम् पूर्वमन्त्री बखानसिंह गुरुङले प्रजातन्त्र स्थापनाका लागि गरेको सङ्घर्षलाई समावेश गरेर लेखिएको छ । गुरुङ नेपालको सहकारी अभियन्तासमेत हुनुहुन्थ्यो ।
महामन्त्री शर्माले जनतालाई अधिकार स्थापित गर्न स्वर्गीय गुरुङले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारी समाजवादको आधारशिला भएको बताउँदै देशमा रहेका ३४ हजार बढी सहकारीलाई नियमन गर्न जरूरी रहेको धारणा राख्नुभयो ।
महामन्त्री शर्माले सहकारीबाट ठगिएका व्यक्तिले जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरूरी रहेको बताउनुभयो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले कांग्रेसले बखानसिंहलाई सहिद घोषणा गर्न लाग्नुपर्ने बताउनुभयो । पुस्तकका समीक्षक एवम् राजनीतिक विश्लेषक शंकर तिवारीले जागिर छाडेर सहिदको पक्षमा लाग्नुभएका बखानसिंह निष्ठावान लोकतान्त्रिक व्यक्ति भएको बताउनुभयो ।
अर्को समीक्षक एवम् मदन पुरस्कार विजेता अमर न्यौपानेले गुरुङ भाषामा लेखिएकाले सांस्कृतिक यो उपन्यास भएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनको सशक्त नाम बखानसिंह गुरुङ भएको बताउनुभयो ।
पुस्तकका लेखक पराजुलीले जनताको अधिकार स्थापित गर्न बखानसिंहले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँको सङ्घर्षलाई समेटेर उपन्यास प्रकाशन गरिएको बताउनुभयो ।