काठमाडौँ, ७ भदौ : समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा. राणाले भेटवार्ता गर्नुभएको हो ।
सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो। त्यस क्रममा मन्त्री डा. राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राख्नुभयो ।
मन्त्री डा. राणाले दुवै देशको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बिचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिनुभयो। उहाँले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताउनुभयो ।
पछिल्ला वर्षमा नेपाल र भियतनामका पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा. राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुयो ।
मन्त्री डा. राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गर्नुभएको थियो। त्यसैगरी उहाँले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गर्नुभएको छ ।
भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डामा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो ।
जी७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रूपमा नेपाल र भियतनाम विकासशील देशको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा. राणाले बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।