अमेरिकी न्यायाधीशद्वारा ट्रम्पको ‘एलिगेटर अल्काट्राज’ बन्द गर्न आदेश

  ४ घण्टा अगाडि

एक अमेरिकी सङ्घीय न्यायाधीशले बिहीबार ट्रम्प प्रशासन र फ्लोरिडा राज्य सरकारलाई ‘एलिगेटर अल्काट्राज’ भनिने हिरासत केन्द्रमा नयाँ आप्रवासीहरू ल्याउन प्रतिबन्ध लगाउँदै साइटका धेरै भाग भत्काउन आदेश दिएका छन् । यससँगै यो हिरासत केन्द्र प्रभावकारी रूपमा बन्द हुने भएको छ ।

फ्लोरिडा सरकारले भने तुरुन्तै यो निर्णयविरुद्ध अपिल गर्ने घोषणा गरेको छ ।

फ्लोरिडाको एभरग्लेड्स सिमसार क्षेत्रमा रहेको एउटा परित्यक्त एयरफिल्डमा बङ्क बेड, तारको पिँजडा र ठूला सेतो पालहरू राखेर जम्मा आठ दिनमै हतारमा यो हिरासत केन्द्र तयार गरिएको थियो । यो ठाउँ एलिगेटरहरूको ठूलो सङ्ख्याका लागि पनि चिनिन्छ ।

लाखौँ कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने वाचा गर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना यस केन्द्रको भ्रमण गर्दै कठोर अवस्थाको घमण्ड गर्नुभएको थियो र सरिसृप शिकारीहरूलाई गार्डका रूपमा प्रयोग गर्ने भनेर मजाक गर्नुभएको थियो ।

ह्वाइट हाउसले यसलाई ‘एलिगेटर अल्काट्राज’ नाम दिएको थियो । यो नाम सान फ्रान्सिस्को खाडीमा रहेको पूर्व टापु जेल ‘अल्काट्राज’ सन्दर्भमा थियो । ट्रम्पले यस जेललाई पुनः खोल्ने चाहना प्रकट गर्नुभएको छ ।

गृहमन्त्री क्रिस्टी नोएमका अनुसार यो केन्द्रमा तीन हजार आप्रवासीलाई राख्ने योजना बनाइएको थियो ।

तर यो सुविधा वातावरणविद्हरू र आप्रवासन नीतिका आलोचकहरूको निशानामा आयो । उनीहरूले यसलाई अमानवीय भनेका छन् ।

जिल्ला न्यायाधीश क्याथलिन विलियम्सले बिहीबार दिनुभएको यो फैसला वातावरणीय समूह ‘फ्रेन्ड्स अफ द एभरग्लेड्स’ र ‘सेन्टर फर बायोलोजिकल डाइभर्सिटी’ ले ट्रम्प प्रशासनविरुद्ध दायर गरेको मुद्दापछि आएको हो ।

यी समूहहरूले हिरासत केन्द्रले संवेदनशील एभरग्लेड्स पारिस्थितिकी तन्त्रलाई खतरा पुर्‍याउने र कानूनी रूपमा अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन नगरी हतारमा निर्माण गरिएको दाबी गरेका छन् ।

– ६० दिनको समयसीमा –

यस महिनाको सुरुआतमै न्यायाधीश विलियम्सले केन्द्रमा थप निर्माण रोक्न अस्थायी आदेश दिनुभएको थियो ।

अब उहाँले ट्रम्प प्रशासन र रिपब्लिकन गभर्नर रोन डिसान्टिसले नेतृत्व गर्नुभएको फ्लोरिडा राज्यलाई ६० दिनभित्र केन्द्रमा बनाइएका सबै अस्थायी तारबार, बत्ती, जेनेरेटर र फोहोर तथा ढल व्यवस्थापन प्रणाली हटाउन आदेश दिनुभएको छ ।

आदेशमा भनिएको छ, “पहिले नै साइटमा राखिएका कैदीबाहेक कुनै पनि नयाँ व्यक्तिलाई त्यहाँ ल्याउन पाइने छैन ।”

धेरै कैदीले एएफपीसँग कुरा गर्दै स्वास्थ्य उपचारको कमी, दुव्र्यवहार र कानूनी अधिकार उल्लङ्घनबारे गुनासो गरेका छन् ।

पच्चीस वर्षीय क्युबाली लुइस गोन्जालेजले केन्द्रभित्रबाट फोन गरेर भन्नुभयो, “तिनीहरूले जनावरहरूमाथि पनि यस्तो व्यवहार गर्दैनन् । यो यातना जस्तै हो ।”

उहाँले करिब ३० जना मानिससँग एउटै कोठा बाँडेको बताउनुभयो । उक्त कोठालाई चेन–लिङ्क तारको बारले घेरेको छ । उहाँले यसलाई ‘कुखुराको घर’ सँग तुलना गर्नुभयो ।

ट्रम्प प्रशासनले भने यो केन्द्रलाई देशभरका अन्य हिरासत सुविधाका लागि आदर्श बनाउन चाहेको बताएको छ ।

(रासस)

तपाईको प्रतिक्रिया