रुपन्देहीमा एक करोड ७१ लाखको अवैध सामान बरामद

  ३ घण्टा अगाडि

देवदह (रुपन्देही), ५ भदौ : रुपन्देही प्रहरीले राजस्व छलिको रु एक करोड ७१ लाखको अवैध सामान बरामद गरेको छ । प्रहरीले राजस्व छलिको सामानसहित जीप चालकलाई नियन्त्रणमा लिएको छ ।

बिलबिजक विनाका सामान ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवारबाट राजस्व छलिको सामानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरि बनियाँले चलाएको लु२च ६३०३ नम्बरको जीपमा जाँच गर्दा विना बिलबिजकका सामान फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । बरामद गरिएका सामानमा विभिन्न कम्पनीका फ्लेबर २७ कार्टुन, लाखौँ मूल्यको ई–भेप तथा अन्य सामान रहेको छ । चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया