बैतडीमा शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाइँदै

  ५ घण्टा अगाडि

बैतडी, ५ भदौ : जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम स्थानीय तहबाट भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकामा दर्ता शिविर सञ्चालन गरेर विवरण सङ्कलन गरिरहेको हो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तलगायतको समस्यालाई ध्यानमा राखेर राष्ट्रिय परिचयपत्रका लागि स्थानीयस्तरमा विवरण सङ्कलन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । यसअघि विवरण सङ्कलन जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चाैँडीबाट हुँदै आएको थियो ।

प्रजिअ पैडेलले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने प्रक्रियालगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । दुर्गमका नागरिकले परिचयपत्र बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । उक्त बाध्यताको अन्त्यका लागि विवरण सङ्कलनको कार्यलाई स्थानीय तहमा विस्तार गरेका हौँ ।”

उहाँका अनुसार शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ ।

पालिकामा विवरण सङ्कलन गर्न सुरु भएपछि स्थानीय नागरिक उत्साहित हुँदै सहभागिता जनाइरहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “परिचयपत्र बनाउन हजारौँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय शिविरमा उपस्थित भई जानकारी उपलब्ध गराइरहेका छन् ।”

यसअघि पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको थियो । पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र सिँगास गाउँपालिकामा यथाशीघ्र शिविर सञ्चालन गरिने जिल्ला प्रशासन कार्यायलले जनाएको छ ।

पुर्चाैँडी नगरपालिकामा इलाका प्रशासन कार्यालयमार्फत, दशरथचन्द नगरपालिकामा जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण भइरहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । प्रशासन कार्यालयले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै परिचयपत्र वितरण र विवरण सङ्कलनलाई सहज र प्रभावकारी बनाउँदै आएको उहाँको भनाइ छ ।

जिल्लामा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न सुरु भएको थियो । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएकाले आफ्नो नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया