विधेयक सर्वसम्मत पारित

  २ घण्टा अगाडि

विराटनगर, ४ भदौ : कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

‘कोशी प्रदेश तथ्याङ्क सम्बन्ध कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । विधेयकको सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत र कमला दर्नालले विधेयकको समर्थन गर्नुभएको थियो ।

विधेयक उपर भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले छरिएर रहेका तथ्याङ्कलाई एकीकृत एवं व्यवस्थित बनाउन विधेयक कोसे ढुङ्गा सावित हुने भन्नुभएको छ ।

उहाँले सत्य र तथ्यमा आधारित तथ्याङ्कबाट नै सरकारले बनाउने योजना, वितरण गर्ने सेवा र सुशासन व्यवस्थापन गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र¬) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट दुर्गाप्रसाद चापागार्इंले जनताले देख्ने र सुन्ने गरी काम गर्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले पर्यटन वर्ष र लगानी सम्मेलनपछि भएको उपलब्धि सार्वजनिक गर्न माग गर्दै सरकार जनताका आवश्यकता र चाहनामा तल्लिन हुनुपर्ने कुरामा जोड दिनुभयो ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रती र गोम्बु शेर्पाले आआफ्नो धारणा राख्नुभएको थियो । उद्योग, पर्यटन तथा वातावरण समितिको प्रतिवेदनको सैद्धान्तिक छलफलमा कुनै सांसदहरूले आफ्ना धारणा राख्नुभएन । अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया