दिल्लीकी मुख्यमन्त्रीमाथि आक्रमण, एक जना पक्राउ

  भदौ ०४, २०८२

दिल्ली प्रहरीले बुधबार बिहान दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक गुनासो सुन्दै गर्दा शारीरिक दुव्र्यवहार गरेको आरोपमा ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

उक्त व्यक्तिको पहिचान पश्चिमी राज्य गुजरातका राजेश खिमजीका रूपमा भएको छ । दिल्ली प्रहरीले हाल उनलाई आक्रमणको कारणबारे सोधपुछ गरिरहेको छ ।

दिल्ली प्रहरीका एक अधिकारीका अनुसार, आक्रमणकारीले मुख्यमन्त्रीलाई थप्पड हाने र त्यसपछि उहाँको हात र कपाल समाते । “आक्रमणका क्रममा मुख्यमन्त्रीलाई हल्का चोट लागेको छ । उहाँको टाउकोमा सानो चोट लागेको छ र हाल चिकित्सकीय परीक्षण भइरहेको छ”, ती अधिकारीले ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन रिपोर्टअनुसार मुख्यमन्त्रीले नागरिकहरूसँग कुरा गर्दै र उनीहरूको गुनासो सुन्दै गर्दा एक व्यक्ति अचानक अगाडि आए । उनले कागजको टुक्रा दिए, चर्को स्वरमा बोल्न थाले, अपशब्द प्रयोग गरे र त्यसपछि थप्पड हाने ।

यसैबीच, गुजरातका मिडिया रिपोर्टहरूका अनुसार आक्रमणकारीकी आमाले आफ्नो छोरा ‘कुकुरप्रेमी’ भएको बताएकी छन् । उनका अनुसार, दिल्ली र आसपासका क्षेत्रमा बेवारिसे कुकुर हटाउने विषयमा हालैको विवादका कारण देशका विभिन्न भागमा शृङ्खलाबद्ध विरोध प्रदर्शन भइरहेका छन्, जसबाट उनका छोरा विचलित भएका थिए ।

एक दिनअघि मात्रै दिल्लीकी मुख्यमन्त्रीले सम्बन्धित सबै अधिकारीलाई कुकुरप्रेमीहरूको भावनामा चोट पु¥याउने वा कुकुरलाई हानि पु¥याउने कुनै पनि कडा कदम नचलाउन कडा निर्देशन जारी गर्नुभएको थियो ।

पार्टी सीमाभन्दा माथि उठेर राजनीतिक नेताहरूले महिला नेतामाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

रेखा गुप्ता सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) की नेत्री हुनुहुन्छ । उहाँले यस वर्ष फेब्रुअरीमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया