कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

  ३ घण्टा अगाडि

काठमाडौँ, ४ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन माग गर्नुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गर्नुभएको हो ।

सांसद रमा कोइराला पौड्यालले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचारकक्षमा उपचाररत रहेका बताउँदै यो घटनाबारे सरकारले सदनलाई विस्तृत जानकारी गराउनुपर्ने माग गर्नुभयो । यो घटनापछि त्यहाँको सरकारले कामदारमाथि धरपकड सुरु गरेको समाचारहरू पनि बाहिरिएकाले नेपालीको अवस्था के छ भनेर सरकारले सोधीखोजी गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नरहेको सांसद पौड्यालले बताउनुभयो ।

सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्मा जानकारीका लागि आग्रह गर्नुभयो । त्यस्तै, बाढीपहिरोका कारण सडक सञ्जाल बिग्रिएको र दुर्घटनाको जोखिम बढेको विषयमा पनि उहाँले संसद्को ध्यानाकर्षण गर्नुभयो ।

अस्थायी आवासगृहमा बसिरहेका जाजरकोटका भूकम्पपीडितलाई वर्षायामले थप प्रभावित भएको बताउँदै सांसद शर्माले पुनर्निर्माणलाई गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले उपसभामुखलाई हटाउनका लागि सत्तारुढ दलले षड्यन्त्र गरिरहेका आरोपसमेत लगाएका छन् । सांसद सन्तोष परियारले उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्नेगरी सत्तापक्ष दलहरूले गृहकार्य गर्नु दुःखद् रहेको बताउनुभयो । सत्तारुढ दलले ह्वीप जारी गरी हस्ताक्षर सङ्कलन गरेर सांसदहरूको विवेकलाई बन्दी बनाउन नहुने उहाँको धारणा थियो । कार्यपालिकाले व्यवस्थापिकामाथि हस्तक्षेप गरेको भन्दै यस्ता कार्यले लोकतन्त्र नै खतरामा पर्ने परियारले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले उपसभामुखलाई महाअभियोग लगाउनका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले खाली कागजमा हस्ताक्षर गराएको आरोप लगाउनुभयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन नगर्ने वर्तमान सरकारले उपसभामुखसँग जोडिएको पुरानो विषयलाई बाहिर ल्याएर साना दललाई हतोत्साही गरिरहेको उहाँको भनाइ छ ।

संवैधानिक निकायमा आफू अनुकूलका व्यक्ति नियुक्ति गर्न संवैधानिक परिषद्मा बहुमत पु¥याउन सरकारले उपसभामुख रानालाई पदमुक्त गर्न षड्यन्त्र गरिरहेको समेत सांसद कार्कीले आरोप लगाउनुभयो ।

आकस्मिक समयमा सांसद महेशकुमार बर्तौलाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ मा चट्याङ लागेर एक जनाको मृत्यु र आठ जना घाइते भएका विषय सदनमा उठाउनुभयो । चट्याङलगायत विपद्जन्य घटनामा मृत्यु भएका परिवारलाई सरकारबाट उपलब्ध गराइने राहत रकम बढाउनुपर्ने माग उहाँले राख्नुभयो ।

सांसद रुक्मिणी राना बराइलीले पछिल्लो समय महिला हिंसाका घटना बढिरहेको भन्दै महिला हिंसा नियन्त्रण गर्न प्रभावकारी कानुन कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला हिंसाका घटनाबारे सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेन्द्रराय यादवले सर्लाही जिल्ला हरिपुर्वा नगरपालिकामा असुरक्षा बढेको बताउँदै त्यहाँ इलाका प्रहरी कार्यालय स्थापना गर्ने र शान्ति सुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै, तराईका क्षेत्रमा अहिले पनि खानेपानी र सिँचाइको समस्या कायम रहेको उहाँले उल्लेख गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले हरिपुर्वामा पूर्वशिक्षक रामपुकार रायको गोली हानेर हत्या भएको विषय संसद्मा उठाउँदै नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गर्न माग गर्नुभयो । सत्तारुढ दुई ठूला दलले साना दललाई तर्साइरहेका उहाँले आरोप लगाउनुभयो । न्याय पालिकामा सरकारको हस्तक्षेप बढेको उहाँको आरोप छ ।

सांसद अब्दुल खानले बर्दिया जिल्लामा बाघसहित जङ्गली जनावरको आक्रमणबाट नागरिकले ज्यान गुमाउनेक्रम नरोकिएको बताउनुभयो । बाघको आक्रमण रोक्नका लागि राज्यका निकायबाट गम्भीर पहल गरिनुपर्ने उहाँले माग राख्नुभयो ।

सांसद वासुदेव घिमिरेले हालसम्म दुई सय ५३ पालिकाले मात्रै भूउपयोग नीति बनाएका जनाउँदै तीबाहेकका अन्य पालिकाले भूउपयोग नीति लागू नगर्दा जमिनको कित्ताकाट खुल्न नसकेको बताउनुभयो । भूउपयोग नीति कार्यान्वयनका लागि स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले सहजीकरण गरिनुपर्ने उहाँले धारणा राख्नुभयो ।

आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै मन्त्री सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया