स्टिल–एलुमिनियम आयातमा अमेरिकाको कडाइ, नयाँ वस्तुहरूमा उच्च शुल्क

  ५ घण्टा अगाडि

अमेरिकी वाणिज्य विभागले मंगलबार जानकारी दिएको अनुसार, एलुमिनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुहरूमा ५० प्रतिशत आयाशुल्क लागू गरिएको छ ।

नयाँ निर्णयअनुसार, स्टिल र एलुमिनियम आयातमा लाग्ने ‘सेक्सन २३२’ अन्तर्गतको कर विस्तार गरिएको छ, जसले मोबाइल, क्रेन, बुलडोजर, रेलको डब्बा, फर्निचर, कम्प्रेसर, पम्प लगायत सयौं उत्पादनहरू समेट्नेछ ।

निर्णय अपेक्षाकृत छिटो लागू भएकाले भन्सार एजेन्ट तथा आयातकर्ताहरू तयारी गर्न नपाई प्रभावित भएका छन् ।

अमेरिकी वाणिज्य विभागका उद्योग तथा सुरक्षा उपसचिव जेफ्री केसलरले भन्नुभयो, “आजको कदमले स्टिल र एलुमिनियममा लाग्ने शुल्कको कार्यक्षेत्रलाई विस्तार गर्दै सम्भावित दुरुपयोग रोक्ने तथा अमेरिकी उद्योगहरूलाई मजबुत बनाउने दिशामा टेवा पु¥याउनेछ ।”

सरकारले प्रभावित वस्तुहरूको विवरण भन्सार कोडमार्फत मात्रै उपलब्ध गराएको हुँदा सर्वसाधारणका लागि यकिनसँग बुझ्न केही कठिनाइ हुन सक्ने जनाइएको छ ।

त्यस्तै, जुलाई महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्पले तामा (कपर) आधारित वस्तुहरूमा पनि ५० प्रतिशत आयाशुल्क लागु गर्ने घोषणा गर्नुभएको थियो, जुन अगस्ट १ देखि लागू भइसकेको छ ।

विशेषज्ञहरूका अनुसार, यस्ता क्षेत्र–विशेष शुल्कहरूले निर्माण, अटोमोबाइल तथा इलेक्ट्रोनिक्सजस्ता उद्योगहरूमा लागत वृद्धि गर्ने सम्भावना रहेको छ । सीएनएनको विश्लेषण अनुसार, शुल्क वृद्धिले आपूर्ति श्रृंखला नै प्रभावित पार्न सक्नेछ ।

तपाईको प्रतिक्रिया