उन्नाइसौँ राष्ट्रिय सूचना दिवस : सर्वोत्कृष्ट अभियन्ता पुरस्कार गाउँलेलाई

  १२ घण्टा अगाडि

काठमाडौँ, ३ भदौ : राष्ट्रिय सूचना आयोगले विनय कसजु सूचनाको हक सर्वोत्कृष्ट अभियन्ता पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं वरिष्ठ पत्रकार शिव गाउँलेलाई प्रदान गरेको छ ।

उन्नाइसौँँ राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विनय कसजु सूचनाको हक उत्कृष्ट अभियन्ता पुरस्कार पत्रकारत्रय आरती चटौत, अमृतनाथ तिमिल्सिना र कृष्णा पौडेललाई प्रदान गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचनाको हकको संरक्षण, प्रवर्द्धन र प्रचलन गर्न योगदान दिनुहुने पूर्वसूचना आयुक्त किरणकुमार पोखरेललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

त्यसअवसरमा उत्कृष्ट सूचना अधिकारीका रूपमा लोकसेवा आयोगका एकनारायण शर्मा, मानेभञ्ज्याङ गाउँपालिकाको कार्यालय, ओखलढुङ्गाका विपिन कार्की, खैरहनी नगरपालिकाको कार्यालय, चितवनका दामोदर अधिकारी, शङ्खरापुर नगरपालिकाको कार्यालय, काठमाडौँका सुभद्रा पुडासैनी र भरतपुर महानगरपालिकाको कार्यालय, चितवनका मेनका पण्डितलाई पुरस्कृत गरियो ।

कार्यक्रममा आयोगमा रही वर्षभरमा उत्कृष्ट कार्य सम्पादन गर्नुहुने उपसचिव देवेन्द्र कार्की, शाखा अधिकृत सहनशीला पुडासैनी, लेखा अधिकृत अशोक न्यौपाने र कम्प्युटर अपरेटर मोहन ज्ञवालीलाई पुरस्कृत गरियो ।

कर्मचारी प्रोत्साहन पुरस्कार हलुका सवारी चालक विजय श्रेष्ठ र कार्यालय सहयोगी टीकाप्रसाद घिमिरेलाई प्रदान गरियो ।

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ साउन ५ गते जारी भई लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाउने गरिएको छ ।

यस वर्ष ‘सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार’ मूल नाराका साथ आज स्थापना दिवस मनाइएको हो ।

सोअवसरमा प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना कुनै अमूर्त विषयवस्तु नभई नागरिकको ज्ञानको शक्ति भएकाले सूचनाको माध्यमबाट नागरिकलाई जिम्मेवार तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

सूचनाको हकको संरक्षण गर्नु नागरिकको कर्तव्य भएको बताउँदै उहाँले कानुनबमोजिम सूचनाको वर्गीकरण गर्न सरकारको ध्यानाकर्षण गर्नु भयो । सूचना आयुक्त गगन विष्टले कानुनी राज्य र विधिको शासनलाई बलियो बनाउन नागरिकले सहज रूपमा सूचनाको हक प्राप्तिको वातावरण आवश्यक रहेको बताउनुभयो । सूचनाको हक कार्यान्वयन गर्नु राज्यको प्राथमिक दायित्व रहेको उहाँको भनाइ थियो ।

अर्का आयुक्त दुर्गा भण्डारी पौडेलले सबैलाई धन्यवाद ज्ञापन गर्दै नागरिकले सहज रूपमा सूचनाको हक प्राप्त गर्न सकून् भन्ने हेतुले आयोगले काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका सचिवलगायत विभिन्न निकायका प्रमुख एवं सूचना अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया